झापा: प्रधानमन्त्री केपी शर्मा ओली असोज २० गते (भोली) गृह जिल्ला झापा आउँदै छन् ।

दशैं, तिहार, छठ लगायतका पर्वहरुको अवसरमा आयोजना हुने शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली झापा आउने भएका हुन् । यसअघि गत बिहीबार नेपाल चीन मैत्री औद्योगिक पार्कको शिलान्यास लगायतका कार्यक्रममा ओली झापा आउने बताईएको थियो । तर मौसमका कारण सो कार्यक्रम स्थगित भएको थियो ।

प्रधानमन्त्री ओली सोमबार विर्तामोडमा आयोजना हुने शुभकामना कार्यक्रममा सहभागी हुन गृहनगर आउने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ओली प्रधानमन्त्री हुनु अगावैदेखि हरेक वर्षको दशैंको नवमीका दिन उनले विर्तामोडमा शुभकामना आदनप्रदान कार्यक्रम गर्दै आएका थिए ।

सुरक्षा व्यवस्था कडा पारियो

प्रधानमन्त्री झापास्थित गृहनगर दमक आउने भएपछि सुरक्षा सतर्कता बढाईएको झापा प्रहरीले जनाएको छ । यस अघि असोज १६ गतेनै प्रधानमन्त्री आउने कार्यक्रम भएपनि सो समयमा प्रतिकुल मौसमका कारण कार्यक्रम स्थगित गरिएको थियो । दमक प्रहरी प्रमुख श्यामल सुब्बाका अनुसार दमकमा कुनै सुरक्षा संवेदनशीलता नभए पनि प्रधानमन्त्री आउने कार्यक्रम भएकाले आफुहरु हाई अलर्टमा बसेको उनले बताए ।

मौसम बाधक बन्न सक्ने

आज आइतबार पनि बिहानैदेखी झापामा बर्षा भईरहेको छ । दिउँसो केही क्षण बर्षा रोकिएपनि पुरै खुलेको छैन । यसले गर्दा पनि भोली प्रधानमन्त्रीको शुभकामना आदन प्रदान कार्यक्रम केही प्रभावित हुने अनुमान गरिएको छ । यसअघि पूर्व निर्धारित कार्यक्रम पनि मौसमकै कारण स्थगित भएको थियो ।