धरान: दशैं कप गल्फ प्रतियोगिताको उपाधि धरानका युवा गल्फर हेमन्त थापाले जितेका छन् ।

धरान १८ स्थित निर्वाणा गल्फ कोर्षमा आइतबार सम्पन्न तेस्रो दशैं कपमा इभन पार ७० स्कोर गर्दै हेमन्तले उपाधि जितेका हुन् । पार ७० को गल्फ कोर्षमा उनले कुल स्कोर भने १५ ओभर ८५ थियो । उनी १५ ह्याण्डीक्याप खेलाडी हुन् । जितसँगै उनको २ ह्याण्डीक्याप घटेको छ ।

यस्तै, २ ओभर ७२ स्कोर खेल्दै विनोद राई दोस्रो भए । उनको कुल स्कोर १२ ओभर ८२ थियो । उनी १० ह्याण्डीक्याप खेलाडी हुन् । यसैगरि, ३ ओभर ७३ स्कोर गर्दै विजय राई तेस्रो भए । उनको कुल स्कोर १२ ओभर ८२ थियो । उनी ९ ह्याण्डीक्याप खेलाडी हुन् ।

golf-dasain-cup

प्रतियोगितामा नेट ७ ओभर ७७ स्कोर खेल्दै राम तामाङ ग्रस विजेता भए । होल नं १० र १८ औंमा वर्डी गरेका जितेन्द्रले मोष्ट वर्डिजको पुरस्कार जिते भने नियरेष्ट टु दि पिनको पुरस्कार होल नं ८ बाट सुमन भुजेल र लङ्गेष्ट ड्राइभ होल नं १० बाट योगेश राईले पुरस्कार जिते ।

विजेता खेलाडीहरुलाई आयोजक धरान गल्फ क्लबका उपाध्यक्ष सन्तोष कार्की, प्रमुख अतिथि एवं नेपाल गल्फ एशोसिएशनका केन्द्रीय उपाध्यक्ष तिलक राई, क्लबका सहसचिव विमल कुमार लिम्बू, कोषाध्यक्ष राजु राईलगायतले पुरस्कार प्रदान गरेका थिए । धरान गल्फ क्लबको आयोजना र वडा नं १८ का अध्यक्ष प्रविण राईको प्रायोजनमा दशैं कप बर्षेनी हुने गरेको छ ।