झापा:  बाँच्ने मन कसलाई हुँदैन ? उपचारका लागि पैसा नभएर परिवारको एक सदस्य अस्पतालको बेडमा छट्पटाएको हेर्ने रहर कस्को हुन्छ ? तर भद्रपुर निवासी निर्मल दाहालको परिवार यस्तै बाध्यतामा छ ।

आर्थिक अभावका कारण क्यान्सर रोगबाट एक वर्षदेखि घरमै थला परेका झापा जिल्ला भद्रपुर नगरपालिका ९ जिल्ला प्रशासन कार्यलय उत्तरपट्टी बस्ने ४९ वर्षीय निर्मल दाहाललाई बचाइ दिन उनका परिवारजनले आग्रह गरेका छन् । पानी पुरी बेच्दै आइरहेका दाहाल एकबर्ष अघि बिरामी परेर मेची अस्पताल भद्रपुर स्वास्थ्य परीक्षण गराउन गएका थिए । मेचीमा उपचार सफल नभएपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेका थिए । त्यहाँका चिकित्सकले श्रीमानलाई बोनम्यारो क्यान्सर भएको पत्ता लागेको उनकी श्रीमती मञ्जुले बताइन् ।

मञ्जुले डाक्टरको सुझाव सम्झिदै भनिन्,श्रीमानको फियोको अपरेसन पछाडि मात्रै बोनमेरोको उपचार हुन्छ । फियोको अपरेसन यही असोज २८ गते विराटनगरको नोबेलमा हुने जानकारी गराउँदै फियोको अपरेसनको एक महिनाको आराम पछि बोनमेरोको काठमांडौमा हुने बताइन् । तर परिवारको आर्थिक जटिलताका कारण उपचार गर्न सकिदैन भन्ने उनलाई पिर छ ।

यता बोनम्यारोबाट रगत उत्पादन हुन छाडेपछि अहिले हप्तामा ४ पोका रगत लगाईरहेको बताउँदै मञ्जुले भनिन् त्यो रगत जुटाउन पनि गारो भैरहेको छ । बी पोजिटिभ रगत हप्तामा ४ दिन लगातार फ्रेस ४ पोका रगत लगाउन पर्ने हुनाले रक्तदान गर्न इच्छुकलाई सम्पर्क गरिदिनु हुन पनि अनुरोध गरेकी छिन् । उनले अहिलेसम्म श्रीमानको उपचारमा पाँच लाख बढीको रकम खर्च भइसकेको बताइन् । उनीहरुको सम्पत्तिको नाममा पाँच धुर जमिन मात्र छ । अहिलेसम्म कमाएर जम्मा गरिएको रकम, गरगहना श्रीमानको उपचारमा खर्च भइसकेको उनले बताइन् । ‘श्रीमानको बोनम्यारोको उपचार तत्काल गर्नुपर्ने चिकित्सकले भनेकाले उपचार गराउन रकम छैन’, मञ्जुले भनिन्, ‘उपचार खर्च जुटाई श्रीमानलाई बचाइन दिन सबै समक्ष अपिल गर्दछु ।’

उपचारका लागि १० लाख बढि खर्च हुन्छ । बोनम्यारो प्रत्यारोपण गराए श्रीमानलाई बचाउन सकिने मञ्जुको अपेक्षा छ । मेची अस्पताल, भारतको सिलगुडी, बिर्तामोडको विएण्डसी अस्पताल, विराटनगरको नोबेल अस्पताल, धरानको घोपा र काठमाडौँको सिभिल अस्पतालमा उपचार गराउँदा गराउँदै ७ लाख बढी रकम खर्च भइसकेको छ । गरिबीका कारण उपचार गराउन सम्भव नभएपछि आफूले मर्नुको विकल्प नभएको क्यान्सर पीडित दाहालले पीडा सुनाए । ‘बोनम्यारो प्रत्यारोपणको तत्काल शल्यक्रिया गर्न नसके अबको तीनदेखि चार महिनाभित्र आफ्नो मृत्यु भइसक्ने चिकित्सकहरूले बताएका छन्’, आँखाबाट आँसु झार्दै उनले भने ।

छरछिमेकले चन्दा संकलन गरेर हालसम्म आफ्नो उपचार गराइरहेको पीडा सुनाए । ‘बोनमेरोले रगत उत्पादन गर्न छाडेकोले अहिले हप्ताको ४ पिन्ट रगत हाल्नै पर्छ र त्यसका लागि पनि समस्या भएको भन्दै बी पोजिटिभ भएका महानुभावहरुलाई सहयोगको याचना छ,’उनले थपे,‘नियमित चेक जाँचका लागि अस्पताल धाई रहेका छौं ।’ दाहालको परिवारमा श्रीमती मञ्जु, १५ वर्षकी छोरी र ११ वर्षका छोरा रहेका छन् । ‘छोराछोरीको पढाई गराउनु की श्रीमानको उपचार गराउनु, यस्तो पीडा भगवानले कसैलाई नदिइयोस’, मञ्जुले थपिन् । छरछिमेकबाट अहिलेसम्म ३० देखि ४० हजार रुपैयाँ चन्दा उठाएर दिएको र त्यो रकमले उपचार नहुने भएकाले सबै पक्षले सहयोग गरिदिनु हुन छिमेकी विशाल रिमालले बताए ।

यता, सहयोगका लागि क्यान्सर पीडित दाहालकी श्रीमती मञ्जुको नाममा रहेको चन्द्रगढीस्थित सिद्धार्थ बैंकको खाता नम्बर ०२२१५२१४०९५ आर्थिक सहयोग रकम जम्मा गरिदिनु हुन रिमालले अनुरोध गरेका छन् । त्यस्तै मञ्जुको मोबाइल नम्बर ९८२४००५२८५, भतिज कृष्ण पौड्याल ९८०३५६१४३५ वा सञ्चारकर्मी आयुष निरौलालाई ९८१५०१२१५८ मा सम्पर्क गरि सहयोग गर्दिनु हुन पनि अनुरोध गरिएको छ ।