झापाः वडा दशैंको महानवमीका दिन हरेक वर्ष झापामा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना आदान –प्रदान गर्ने गर्छन । अघिल्ला वर्षहरुमा झापाको बिर्तामोडमा आयोजना हुने ओलीको कार्यक्रम पहिलो पटक उनको आफ्नै गृहनगर दमकमा भएको हो ।

सोमबार बिहान ११ बजे देखी सुरु हुने भनिएको कार्यक्रम दिनको १ बजेपछि मात्र सुरु भएको थियो । उनी झापाको भद्रपुरस्थित चन्द्रगढी बिमानस्थलबाट कार्यक्रम स्थल दमक आएका थिए । प्रधानमन्त्री ओलीले देशमा भ्रष्टचार कम गराउन, वर्तमान सरकारले इतिहासको सबै भन्दा राम्रो काम गरेको दावी गरेका छन् । ‘भारतबाट पाईपलाईन मार्फत पेट्रोल ल्याउनु, नेकपाले सरकारको नेतृत्व गरेपछि एक वर्षको अवधिमा १ सय ६० किलोमिटर सडक कालोपत्रे हुनु, २ सय भन्दा पक्की पु्ल बनाईनु, ४ सय भन्दा झोलुङगे पुल बनाउनु जस्ता काम गरेर हामीले इतिहास रचेका छौ,’प्रधानमन्त्री ओलीले भने ।

pm-oli-jhapa-3

नागरिकमुखी र जनतालाई प्रत्यक्ष राहत पुग्ने काम गरिरहेको दावी गर्दै उनले सरकारको काम देखेर प्रतिपक्ष नतमस्तक बनेको र बिरोधका लागि बिरोध मात्र गरेको बताए । प्रधानमन्त्री ओलीले आफु पनि भ्रष्टचार नगर्ने र गर्नेहरुलाई पनि कार्वाही गरिने बताए । गलत आचरण भएका र समाजमा कलंक कहलिएका साथै भ्रष्टचारमा लिप्त भएकाहरुलाई कार्वाही गर्नका लागि जुनसुकै पद तथा ओहोदामा भए पनि नछोड्ने प्रतिबद्धता जनाए ।

वडादशैँ, शुभदिपावली, छैठ, तथा नेपाल सम्वत् ११४० लगायत चाडपर्वको अवसरमा प्रधानमन्त्री ओली आफैले आयोजना गर्नु भएको कार्यक्रममा उनले नेपाली चाडपर्वले नेपाली सामुदायीक तथा पारिवारीक कलह, रिस तथा अन्य कलहको अन्त्य गर्ने बताए । कार्यक्रममा प्रदेश नं १ का बिभिन्न मन्त्रालयका मन्त्री, कार्यवहाक सभामुख डा. शिवमाया तुम्वाहाम्फे, नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायत बिशिष्ट ब्यक्तिहरु, स्थानीय जनप्रतिनिधी एवं सर्वसाधारणको समेत उपस्थित थियो । प्रधानमन्त्री ओलीले हरेक वर्ष महानवमीको दिन झापामा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्र्दै आएका छन् । हरेक बर्ष झापास्थित बिर्तामोडमा आयोजना गरिने कार्यक्रम यस बर्षदेखी भने प्रधानमन्त्रीले आफ्नै गृहनगर दमकमा गर्न सुरु गरेका छन् ।