इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. १७ स्थित पकलीमा आफ्नै श्रीमती र छोरीको हत्या गरी एकजनाले झुण्डिएर आत्महत्या गरेका छन् । दसैँको टीकाको दिन मंगलबार पकलीका राकेश शर्माले आफ्नी श्रीमती र ६ बर्षीया छोरीको हत्या गरी झुण्डिएर आत्महत्या गरेका हुन् ।

राकेशकी श्रीमती पुनमको शब टिनको बाकसभित्र फेला परेको थियो भने करीब ६–७ बर्षकी छोरी स्वस्तिकाको शब बोरामा बेरेर खाटमुनि राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । पकली चोकबाट उत्तरपट्टि बस्दै आएका राकेश करीब ४५ बर्षको रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) यज्ञबिनोद पोखरेलले श्रीमान र श्रीमती बीच पहिलादेखि नै झगडा हुने गरेको जानकारी दिए । उनले टेलिफोन सम्पर्कमा कपुरीसँग भने, यीनिहरुलाई पहिला पनि ठानामा ल्याएर छलफल गराएको हो, हिजो श्रीमतीलाई र छोरीलाई मारेपछि कारबाहीबाट बच्न उसले पनि झुण्डिएछ । उनका अनुसार उनीहरुका दुई छोरी र १ छोरा रहेका थिए । एक छोरा र एक छोरी भने हजुरबुबासँग बस्दै आएको पोखरेलले बताए । अन्य कसैले तीनै जनाको हत्या गरेको पनि हुन सक्छ नि? भन्ने प्रश्नमा एसपी पोखरेलले भने, त्यस्तो पक्कै पनि हैन, तर हामी अनुसन्धानकोे चरणमा रहेका छौँ, आशंका गर्ने ठाउँ छैन । राकेश काठ मिस्त्री रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । दसैँको टीकाको दिन नै यो घटना भएपछि यतिबेला गाउँ नै शोकाकुल भएको छ ।