झापाः दशैमा आफ्ना मान्यजनको हातवाट टिका जमरा र आर्शिवाद ग्रहण गर्न आउने जाने क्रम आज पनि जारी छ । निजी सवारी साधन हुनेहरु त आफ्नो समय अनुकुल आफन्तकोमा जाने आउने गर्छन तर सार्बजनिक सवारी साधनको भर पर्नुपर्नेहरुको भने बर्षैपिच्छेको दशैंमा बिचल्ली हुने गरेको छ ।

चाडबाडको समयमा पनि अन्य दिनको जस्तै सवारी साधनहरु सञ्चालन भएपनि यात्रुले सहजरुपमा यात्रा गर्न नपाएको गुनासो गरेका छन् । छोटो दुरीका लागि यात्रा गर्नेलाई त सार्वजनिक सवारीका कर्मचारीहरुले चढ्नै नदिएको यात्रुहरु बताउँछन् । झापाको दमकबाट केर्खा जान लागेका दुर्गादेबी भण्डारी बस कुरेर दमकस्थित पशुहाटमा रहेको बसपार्कमा भेटिइन् । उनलाई सार्वजनिक सवारीका कर्मचारीले केर्खामा गाडी रोक्दैन भनेपछि उनी अलमलमा परिन् । पछि उनले बाध्यतामै परेर अटो रिक्सामा केर्खा जानुपर्यो । सामान्यतया दमकबाट केर्खाको भाडा १० रुपैया हो तर उहा १ सय रुपैया तिरेर अटोमा जानुपर्यो ।

dasai_n

यस्तै दमकबाट उर्लाबारी जान लागेका उमेस भट्टराईले पनि यस्तै पीडा भोग्नुपर्यो । उनीहरु त उदाहरण पात्र मात्र हुन् । उनीहरुजस्तै देशका अन्य स्थानमा पनि अन्य यात्रुले यही समस्या भोगिरहेका छन् । अन्य दिनमा यात्रुको चप कम हुने गरेको भए पनि चाडबाडको समयमा अप्रत्यासित बृद्धि हुने गर्छ । तर अघिल्लो बर्षको तुलनामा सार्बजनिक यातायातको संख्यामा बृद्धि भएकोले सहज रुपमा यात्रा गराएको दावी गर्छन बिराटनगर काकडभिट्टा रुटमा बस चलाउने कमल कार्की ।

अन्य दिनको तुलनामा चाडपर्बको समयमा सडकमा सवारीको चाप हुने गर्दछ । यो समयमा धेरैले लापरबाही ढङ्गले सवारी चलाउने र अनावश्यक सडक जाम हुन सक्ने भएकोले ट्राफिक प्रहरीले चुस्त दुरुस्त सेवा प्रबाह गरिरहेको ट्राफिक प्रहरीको भनाई छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होम अधिकारी चाडपर्वको समयमा यात्रु ठगिने भएकाले आफुहरुले प्राय शहरहरुमा यात्रु सहायता कक्ष राखेको बताउछन् । तर यात्रुहरु ठगिने क्रम र हेपिने क्रम भने उस्तै छ । हरेक दशैंमा यात्रालाई सहज बनाउने भनिएपनि त्यो कहिल्यै पुरा भएको देखिदैन ।

dasai2_n dasai3_n dasai8_n