झापा: नेपालीहरुको महान चाड वडा दशैले सबैतिर रौनकता छाएको छ । घरदेखि टाढा टाढा गएकाहरु समेत दशैमा घर फर्किएर आफन्त, साथीभाई तथा परिवारसँग रमाईलो गरिरहेका छन् । तर स्वदेशमै रहेरपनि घर जान नपाएकाहरु भने आफ्नै कार्यक्षेत्रमा बसेर मन अमिलो पार्दै अरुकै रमाईलो हेरेर चित्त बुझाईरहेका छन् ।

हुँदा खाने र हुनेखाने सबैले आ–आफ्नो गच्छे अनुसार दशैं मनाईरहेका छन् । तर कामकै चटारोले बिदा नपाएर कार्यक्षेत्रमै मन अमिलो पार्दै बसेकाहरुको मन भने यतिबेला खिन्न छ । बिशेष गरेर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतका चौबिसै घण्टा आफ्नो कर्तब्य पालनामा रहेकाहरु भने दशैंमा पनि घर गएर परिवार तथा आफन्तहरुसँग खुसी साटासाट गर्न नपाउँदा खिन्न देखिन्छन् । बिशेष गरि सुरक्षाकर्मीहरुलाई यो चाडवाड अरुकै सेवामा लागेर बित्ने गरेको छ । दशैंका बेला बिशेष गरि टिकाका दिन त झन् सडकमा सवारीको चाप हुने भएकाले ट्राफिक प्रहरीलाई भ्याईनभ्याई हुन्छ । तर राष्ट्रको सेवा गर्ने भनेर सपथ लिएको सम्झदै चाडबाडमापनि कार्यस्थलमै खटिने गरेको दमक ट्राफिक प्रमुख यज्ञप्रसाद शर्मा बताउँछन् ।

यस्तै सुरक्षाकर्मीहरु जस्तैै बिदा नपाउनेमा संचारकर्मीहरुपनि छन् । उनिहरुलाई पनि कहिले चाड पर्वले छुदैन । परिवारको साथमा बसेर दशै मनाउने रहर हुदा हुदै पनि आफुले अंगालेको पेशामा रमाउनु पर्ने बाध्यता छ । हर बखत ताजा सुचना र देशमा भईरहेको घटनालाई नागरिकसामु सुसूचित गर्नु नै आफ्नो मुख्य जिम्मेवारी ठानेर कर्तब्य पालना गर्नुपर्ने बताउछन झापा दमकका सञ्चारकर्मी गोबिन्द ल्वागुन ।

त्यस्तै बरुण यन्त्रकर्मी, स्वास्थ्यकर्मीहरुले पनि दशैमा बिदा नपाउदाको पीडा उस्तै छ । स्वास्थ्य क्षेत्र पनि अति नै सम्बेदनशिल क्षेत्र भएकोले स्वास्थ्यकर्मीहरुले बिदा पाउन गाह्रो हुन्छ । चाडपर्बमा परिवारसंग बसेर रमाइलो गर्ने रहर हुदाहुदै पनि आफ्नो पेशामा मर्यादित हुनु आफ्नो कर्तब्य ठान्छन स्वास्थ्यकर्मीहरु । चाडपर्बमा परिवारको साथमा दशै मनाउन नपाउँदा जो कोहीलाई पनि नरमाइलो त लाग्छ नै तर पनि आफ्नो काम, कर्तब्य र परिबेशले गर्दा परिवारको साथमा दशै मनाउन नपाएकाहरुको पीडा कमको हुन्न ।