पाँचथर : याङवरक गाउँपालिका–६, नागीमा छुरा प्रहारबाट एक जनाको हत्या भएको छ । बुधबार बिहान ११ बजेतिर याङवरक गाउँपालिका–६ नागीका अन्दाजी २०/२२ वर्षका आइतराज योङहाङको छुरा प्रहारबाट ताप्लेजुङको सिदिङवा गाउँपालिकाका ४० वर्षीय अर्जुन मावोको ज्यान गएको हो ।

ज्यान गुमाएका मावो छुरा प्रहार गर्ने योङहाङको फुपाजु हुन् । मावो ससुराली घरमा घर ज्वाइँ बस्दै आएका थिए । घरको आँगनमा २ जनाबीच कुराकानी भइरहेको बेलामा योङहाङले मावोलाई एक्कासी छुरा प्रहार गरेका थिए । छुरा प्रहारपछि मावोको घटनास्थलमा नै ज्यान गएको वडाध्यक्ष ताराबहादुर योङहाङले जानकारी दिए ।

योङहाङले मावोलाई दाहिने पेटमा छुरा प्रहार गरेको बताइएको छ । योङहाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली गइरहेको प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिलकुमार पौडेलले बताए ।