पाँचथर : याङवरक गाउँपालिकामा भएका दुई वटा छुट्टाछुटै हत्यामा संलग्न रहेको आरोपमा पाँचथर प्रहरीले तीन जना पक्राउ गरेको छ ।

असोज १६ गते याङवरक-२ सिलसिले भन्ने ठाउँका ३८ वर्षीय रामलाल कार्कीको टाउकोमा ढुङगा प्रहार गरी हत्या भएको थियो । यो घटनामा संलग्न रहेको आरोपमा फरार रहेका यही गाउँपालिका–३ का २३ वर्षीय रनबहादुर सेलिङलाई प्रहरीले पक्राउ गरेको छ । सेलिङ फिदिम-१ मा लुकेर बसेको बेला शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, बुधबार याङवरक गाउँपालिका - ६ नागीमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ । घर ज्वाइँ बस्दै आएका ४० वर्षीय अर्जुन मावोको छुरी प्रहार गरी बुधबार हत्या भएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा याङवरक-६ कै १७ वर्षीय आइतराज योङहाङ र २० वर्षीय बुद्धिराज योङहाङ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारि अनिलकुमार पौडेलले बताए। पक्राउ परेकामााथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।