विराटनगर: १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले आज अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुकाका साथै विविध कार्यक्रमहरुको आयोजना गरी “६४ औं प्रहरी दिवश २०७६” मनाएको छ ।

प्रहरी दिवसको अवसरमा दिपावली, रक्तदान, सार्वजनिक स्थल सरसफाई, लगायतका कार्यक्रमहरुको आयोजना गरि मनाइएको हो । प्रदेश प्रहरी तालिम केन्द्र रानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं मुख्यमन्त्री शेरधन राईले प्रहरीले उच्च मनोवलको साथ काम गरेर जनताको विश्वास जित्न सफल हुनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे । आफ्नो कर्तव्य पालनाको क्रममा वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री राईले विकासको पहिलो सर्त भनेकै सुरक्षा रहेको बताए । साथै उनले प्रदेशको समग्र सुरक्षाको सम्बन्धमा प्रदेश सरकार लागि परिरहेको समेत बताए ।

कार्यक्रममा बिशिष्ट अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रहरी जनताको विश्वासिलो सहयोगी र साथी बनेको उल्लेख गर्दै यसलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउदै लैजानु पर्नेमा जोडदिए । उनले नयाँ नयाँ प्रबिधिसँगै अपराधका नयाँ नयाँ शैलीहरु बिकसित भईरहेकोले प्रहरी पनि प्रबिधी मैत्री हुनु पर्नेमा जोडदिए । साथै, प्रदेश १ प्रहरीलाई थप प्रबिधी मैत्री बनाउन प्रदेश सरकार लागि परेको पनि बताए ।

प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक(डिआइजी) ठाकुर प्रसाद ज्ञवालीले अग्रज तथा अमर प्रहरीको त्याग र बलिदानले दिएको जिम्मेवारीलाई पूरा गर्नु पर्ने दायित्व नबिर्सन आग्रह गर्दै प्रहरी संगठनलाई समयानुकुल श्रोत साधन तथा सिप र ज्ञानले सक्षम बनाउदै लगिएको बताए । उनले समाजका सबै वर्गबाट प्रहरीले सहयोगको अपेक्षा राखेको पनि बताए । पूर्व प्रहरीहरुबाट भएको सहयोगको प्रशंसा गर्दै डिआइजी ज्ञवालीले आगामी दिनहरुमा शान्ति सुरक्षा तथा सामाजिक बिकृति बिसंगतीलाई न्युनिकरण गर्न पुर्व प्रहरीहरुसँग सम्बन्ध थप प्रगाढ बनाउँदै लैजाने पनि बताए ।

police-day1

कार्यक्रममा उपस्थिति बिशिष्ट अतिथिहरुले प्रदेश प्रहरी तालिम केन्द्रमा अवस्थित अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरेका थिए । यस्तै, विभिन्न प्रहरी कार्यालयहरुलाई आफ्नो अमूल्य जग्गा दान गर्ने जग्गा दाताहरु ओखलढुंगाकी पद्‌म कुमारी थापा, सुनसरीका सनिचर महतो कोईरी र रामलाल महतो कोईरी, सुनसरीकै जसोदा राई, जसोदा देवी बस्नेत र निराहाङ राई, झापाका टेकनाथ उपाध्याय दाहाल, रत्न बहादुर श्रेष्ठ, मोरङका केशव सुवाल, नवराज बराल, शारदराज नेपाल, बासु बहादुर बस्नेत र छविलाल फुयाल र भोजपुरका लोकमणी नेपाललाई कदर पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै ,समुदाय(प्रहरी साझेदारीकार्यक्रम कार्यान्वयनमा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी जवान बिमला चौहान, ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम कुमार साह, उत्कृष्ट प्रशासनिक कार्य गर्ने जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा कार्यरत प्रहरी सहायक निरीक्षक महेश थापा, उत्कृष्ट अपराध अनुसन्धानतर्फ जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी सहायक निरीक्षक दुर्गा खनाल र उत्कृष्ट प्रशिक्षकमा प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा कार्यरत प्रहरी निरीक्षक प्रकाश जबेगुलाई पुरस्कृत गरिएको थियो ।

यस्तै, एसइई परिक्षामा उत्कृष्ट अंक ल्याउने अमर प्रहरी कर्मचारीका सन्तानहरुलाई पनि पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा तनिसा सिठुङ्गे मगर, निश्चल आचार्य र संजिता कार्की, सुलभ खतिवडा, तनुसा बस्नेत, ईस्मिता दनुवार, रोशन कुमार राय र रोशन शर्मा, निसिका भुजेल र रंजित कुमार साह, रुपेश राई र रितिक कुमार ठाकुर रहेका छन् । प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी स्कुल धरानले संचालन गरेको अन्तर बिद्यालय चित्रकला प्रतियोगिताका विजयी बिद्यार्थीहरुलाई समेत प्रमाण पत्र तथा पुरस्कार वितरण गर्नु भएको थियो । उक्त प्रतिगितामा क्रमशः डिपोट माध्यमिक विद्यालय धरानका मिङ्सो इवा लिम्बु प्रथम, पब्लिक माध्यमिक विद्यालय धरानका रुपक राई द्धितिय र सैनिक आवासीय महाविद्यालयधरानका अनिल चौधरीले तृतिय भएका थिए ।

प्रहरी दिवशकै अवसरमा संचालन गरिएको पुरुष डबल ब्याडमिन्टन, टेबलटेनिस, पुरुष तर्फ ५ हजार मिटर दौड, महिला तर्फ ३ हजार मिटर दौड तथा रस्साकस्सी खेल तर्फका बिजयी खेलाडीहरुलाई समेत प्रमाण पत्र तथा पुरस्कार बितरण गरिएको थियो ।