विराटनगर: एक लाख धनराशीको छैटौ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार”बाट यो बर्ष ३ जना प्रहरी जवान पुरस्कृत भएका छन् ।

प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने ३ प्रहरी जवानलाई शुक्रबार ६४ औं प्रहरी दिवसको अवसरमा संयुक्तरुपमा यो पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत हुने प्रहरीहरुमा जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवानद्धय खेमनाथ भट्टराई, सुरेन्द्र माझी र जिल्ला प्रहरी कार्यालय ईलाममा कार्यरत मुकुन्द माझी रहेका छन् । शुक्रबार उनीहरुलाई प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो । पुरस्कृतमध्ये खेमनाथले ५० हजार नगद पाए भने सुरेन्द्र र मुकुन्दले जनही २५ हजार नगद पुरस्कार पाए ।

प्रहरी जवानद्धय भट्टराई र माझीले अपराध कार्यमा संलग्न व्यक्तिहरुलाई पहिचान गरी पक्राउ गर्न महत्वपुर्ण भुमिका निर्वाह गरको तथा ध्वंसात्मक एवं अवाञ्छित गतिविधीमा संलग्न व्यक्तिहरुलाई बहादुरी र पराक्रमका साथ कानूनी दायरामा ल्याउन बिषेश भुमिका निर्वाह गरेकोले पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै, अर्का जवान माझीले बाढी पहिरो जस्ता विपदको अवस्थामा अत्यन्त बहादुरीका साथ आफ्नो जिउ ज्यानको पर्वाह नगरी उद्दार कार्यमा संलग्न भएर प्रहरीको छवि उच्च बनाउन र प्रहरीप्रति विश्वास अभिवृद्धि गर्ने प्रशंसनीय कार्य गरेकोले पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयको भनाई छ ।

poice

शुक्रबार प्रहरी दिवस कार्यक्रममा साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्रा.डा.बिक्रमप्रसाद श्रेष्ठ र प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले संयुक्तरुपमा १ लाखको चेक र प्रशंसा पत्र प्रदान गरेका थिए । यो पुरस्कार धरानका प्रा.डा.बिक्रमप्रसाद श्रेष्ठले आफ्नी स्वर्गीय आमा साधनादेवी श्रेष्ठको स्मृतिमा स्थापना गरेका हुन् । बर्षभरिमा उत्कृष्ट ठहरिएका प्रहरी कर्मचारीहरु मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरीलाई प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा यो पुरस्कार प्रदान गरिदै आएको छ ।

पुरस्कार हस्तान्तरण गर्दै डिआइजी ज्ञवालीले प्रहरी जवान तथा अधिकृतहरुको मनोबल उच्च राख्न यो पुरस्कारले महत्वपूर्ण भुमिका निर्बाह गरेको बताए । उनले आफ्नी स्वर्गिय माताको नाममा स्थापना भएको यो पुरस्कार कोषका संस्थापक प्रा.डा. श्रेष्ठप्रति उनले धन्यवाद ज्ञापन गरेका थिए । पुरस्कृत जवानहरुले आफुहरुले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताए । सोही कार्यक्रममा साधनादेवी प्रहरी पराक्रम पुरस्कारका संस्थापक प्रा.डा. विक्रम प्रसाद श्रेष्ठलाई प्रमुख अतिथी एवं मुख्यमन्त्री शेरधन राईले दोसल्ला ओढाएर सम्मानसमेत गरेका थिए ।

police