सिन्धुपाल्चोकका : सिन्धुपाल्चोकको तिर्खुमोडमा आज भएको यात्रुबस दुर्घटनामा १२ जनाको मृत्यु भएको पुष्टी भएको छ ।

५ जनाको घटनास्थलमै र ६ जनाको धुलिखेल अस्पतालमा र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । इन्द्रावती गाउँपालिका-१० भोटसिपा भएर काठमाडौं आउदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस तिर्खुमोडमा सडकबाट खसेको थियो । दुर्घटनामा ४० जना घाइते भएका छन् । तीमध्ये गम्भिर अवस्थाका २१ जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्य घाइते धुलिखेल लगायत अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधावप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीकाअनुसार चालक काभ्रे बनेपाका केदार महाजु, पाँचखालकी संगीता पुर्कोटी, इन्द्रावती ९ की हिरा श्रेष्ठ र बिनोद लम्साल, इन्द्रावती १० का रितेश आचार्यको घटनास्थलमै मृत्यु भएको हो । त्यसैगरी जुमादेवी श्रेष्ठ, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमिता पुर्कोटी धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्यको भने सनाखत भएको छैन । बिहान ८ बजे भोटसिपा गाउँबाट हिडेको बसको टायरको हावा कम भएपछि कुनामा मोड्न खोज्दाखोज्दै ब्रेक फेल भएर १० बजेतिर सडकबाट तल खस्दा क्षतीग्रस्त भएको थियो । गाडीमा सवार झण्डै ७० जना रहेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले बताए ।