काठमाडौं : क्रिष्टियानो रोनाल्डो करियरको ७०० गोलनजिक पुग्दा पोर्चुगलले युरोकप छनोटमा लग्जम्बर्गमाथि सहज जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा पोर्चुगलले लग्जम्बर्गलाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले १६ औं मिनेटमा बर्नाडो सिल्भाको गोलबाट अग्रता लिएको थियो । दुई गोल भने दोस्रो हाफमा भयो । खेलको ६५ औं मिनेटमा रोनाल्डोले पोर्चुगलका लागि गोल गरे । यो उनको करियरको ६९९ गोल हो । अब उनले सोमबार युक्रेनविरुद्ध गोल गरे ७०० गोल पुरा गर्ने छैटौं फुटबलर बन्नेछन् ।

पोर्चुगलका लागि तेस्रो गोल भने अन्तिम मिनेटतिर गोन्जालो गेइजले गरेका थिए । जितसँगै पोर्चुगल ५ खेलबाट ११ अंकका साथ समूह बीको दोस्रो स्थानमा छ । शीर्गा स्थानमा रहेको युक्रेनको ६ खेलबाट १६ अंक छ भने तेस्रो स्थानमा रहेको सर्बियाको ७, चौथो स्थानमा रहेको लग्मबर्गको ४ र पुछारको लुथिआनियाको १ अंक छ ।