धरान: दशैं नसकिदै धरानमा अपराधिक घटना भएको छ । हिजो शुक्रबार एकै दिन धरानको छाता चोक र धरान ४ वसन्तटारमा हतियार प्रहारबाट ४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार छाताचोकमा मोवाइलको बिषयमा साथी साथीबीच विवाद हुँदा छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट सविन भुजेल गम्भीर घाइते भएका छन् । उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा राखेर उपचार भइरहेको छ । छुरा प्रहार गर्ने फरार छन् । उनको पहिचान भइसकेको र खोजतलास जारी रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

यस्तै, शुक्रबार राती करिब ११ बजे धरान ४ स्थित बसन्तटारमा जथाभावी खुकुरी प्रहार हुँदा ३ युवाहरु गम्भीर घाइते भएका छन् । वसन्तटार क्षेत्रबाट मोटरसाइकलमा फर्कदै गरेका ३ जनालाई बीचबाटोमा रोकेर जथाभावी खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट धरान ११ का आकाश राई गम्भीर घाइते भएका छन् । उनको देब्रे कानको लोती काटिएको छ भने टाउको, ढाड, पेटलगायत शरीरको विभिन्न अंगमा चोट लागेको छ । यस्तै, उनीसँगै मोटरसाइकलमा सवार राज्य राई र समीर राई पनि घाइते छन् । उनीहरुलाई भने सामान्य चोट छ ।

khukuri1

घाइते आकाशका अनुसार युवाहरुको समुहले बाटोमा रोकेर एक्कासी खुकुरी प्रहार भएको थियो । ती युवाहरुसँग आफुहरुको कुनै दुश्मनी नभएको र नचिनेको पनि उनले बताए । घाइते आकाशको विपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनीहरु सवार मोटरसाइकललाई पनि आक्रमणकारी युवाहरुले जथाभापी प्रहार गरेर क्षतिग्रस्त बनाइदिएको आकाशले बताए । उनीहरुले भागेर ज्यान जोगाएका थिए । प्रहरी निरीक्षक ओलीका अनुसार आक्रमण गर्नुको कारण र आक्रमणकारीहरुबारे खोजतलास भइरहेको उनले जानकारी दिए ।

तस्बिर क्याप्सन: वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत घाइते आकाश राई ।