काठमाडौं: चिनिया राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमणको क्रममा राजधानी काठमाण्डौं आइपुगेका छन् ।

राष्ट्रपति सी एयर चाइनाको विशेष विमानबाट भारतको चेन्नाई हुँदै आज शनिबार अपराह्न नेपाल आइपुगेका हुन् । उनलाई समकक्षी विद्यादेवी भण्डारीले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गरेकी थिइन् । राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र केन्द्रीय सरकारका मन्त्रीहरु पनि विमानस्थल पुगेका थिए ।

चिनिया राष्ट्रपति सीलाई नेपाली सेनाले गार्ड अफ अनरसमेत प्रदान गरेको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि सेनाको एक टोलीले गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि दुवै देशको राष्ट्रिय गानको धून बजाउँदै नेपाली सेनाले सलामी अर्पण गरेको थियो । अति विशिष्ट पाहुनालाई नेपाली सेनाको टोलीले गार्ड अफ अनर प्रदान गर्ने परम्परा छ ।

Xi_guard_of_honor

सरकारले सीको स्वागत तथा सम्मानमा कुनै कसर बाँकी राखेको छैन । काठमाडौंका सडक विशेष रुपमा सजाइएको छ भने ठाउँठाउँमा परम्परागत पोशाक र झाँकीसहितको टोलीलाई स्वागतमा खटाइएको छ । चिनियाँ राष्ट्रपति सी त्रिभुवन विमानस्थलबाट राष्ट्रपति सी बास बस्नका लागि होटल सोल्टी गएका छन् । उच्चस्तरीय भेटवार्ता गरी उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।

राष्ट्रपति सीले शनिबारै समकक्षी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति शीले शनिबार नै राजनीतिक भेटवार्ता पनि थाल्नेछन् । राष्ट्रपति सीले शनिबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।