धरान: धरान १८ स्थित हिमालयन महायान देछेन छोलिङ गुम्बाको लामा निवास तथा छात्राबास निर्माणको लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको छ ।

गुम्बाको ४४ औ वार्षिक साधारण सभाको अवसरमा शनिबार पच्चीस लाख सहयोग गर्ने दावा शेर्पा र दिकु शेर्पालाई सम्मान गरिएको हो। यस्तै, सोही अवसरमा १ लाख ५ हजार सहयोग गर्ने धरान १५ का धनपाल तामाङ, १ लाख प्रदान गर्ने राकेशप्रसाद रन्जन, लाक्पा शेर्पाको स्मृतिमा २ लाख ५० हजार बराबरको छोर्तेन प्रदान गर्ने पेमलमु शेर्पा, २० हजार प्रदान गर्ने धरान १४ का गजेन्द्र सुनुवार र झरना सुनुवारलाई खादा लगाएर सम्मान गरिएको हो ।

sherpa

कार्यक्रमकी प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मन्जु भण्डारीले इच्छाशक्ति र लगन भए आफुसँग पैसा नभए पनि काम गर्न सकिने उदाहरण गुम्बाको समितिहरुले गरेर देखाएको धारणा व्यक्त गरिन् । शेर्पा संघले गरेको कामको प्रसंशा गर्दै भण्डारीले धरानमा सभा हल निर्माण भएकोमा खुशी व्यक्त गरिन् । ए.सि.जडान गर्न सुझाव दिदै उनले नगरपालिकाका र अन्य कार्यक्रम यहाँ आयोजना गर्न सुझाव दिने पनि बताइन् ।

कार्यक्रमका विशेष अतिथि एवं बराह ज्वेलरीका मानबहादुर दियालीले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । धरान १५ ङुङ्ने ल्हाघाङ गुम्बाका अध्यक्ष लोकबहादुर थिङ्ले आफुहरुले गुम्बा बनाउदा धेरै समस्या भएको उल्लेख गर्दै उपमहानगर र अन्य निकायबाट बजेट नपाएको गुनासो गरे । गुम्बाका अध्यक्ष ङावालप्टु लामा शेर्पाको अध्यक्षतामा भएको साधारणसभामा उनले ए.सि.जडानको लागि उपमहानगरले सहयोग गर्न आग्रह गरे ।