काठमाडौं : ग्रिसलाई हराउँदै इटली अर्को वर्ष हुने युरोकप फुटबलका लागि छनोट भएको छ । गएराति इटालीको रोममा भएको खेलमा घरेलु टोली २–० ले विजयी भयो ।

इटालीको जितमा जर्जिनो र बर्नारडेस्चीले एक–एक गोल गरे । जितसँगै इटालीले युरोकप फुटबल छनौटको समूह ‘जे’ मा ७ खेलबाट २१ अंक जोडेको छ । समान खेलबाट १२ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा छ ।

गएराति भएको खेलमा उसलाई बोस्निया हर्जगोभिनाले ४–१ ले पराजित गरेको हो । उता समूह ‘एफ’ को खेलमा स्पेनले नर्वेसँग १–१ गोलको बराबरी खेलेको छ । यो खेलसँगै स्पेनिस डिफेन्डर सर्जियो रामोस युरोपका कुनै पनि देशका लागि सर्वा्धिक खेल खेल्ने फुटबल खेलाडी बनेका छन् । रामोसले स्पेनका लागि १६८ खेल खेलेका छन् ।

युरोकप छनौटका अन्य खेलहरुमा डेनमार्कले स्विट्जरल्याण्डलाई १–० ले हराउँदा स्विडेनले माल्टालाई ४–० ले तथा रोमानियाले फारो आईल्याण्डलाई ३–० ले पराजित गरेको छ ।