विराटनगरः भारतमा विवाह भएकी विराटनगर ११ पञ्चमुखी चोकका मनिकचन्द सहनीकी २२ बर्षीय रञ्जुदेवी साहनी(बहरदार)को दाइजोको कारण हत्या भएको छ ।

माईतीपक्षले दाईजो नदिएको भन्दै उनको जोगवनीमा हत्या भएको हो । हत्या पछि उनको शव भारतको अररिया जिल्लास्थित परवाना नदीको मिरगन्ज पुल नजिकै डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शव स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । भारतीय प्रहरीले घटनामा संलग्न भएको आरोपमा रञ्जुको श्रीमान्सहित ४ जनालाई पक्राउ गरिसकेको छ । मृतक रञ्जुको शव पोष्टमार्टम पछि नेपाल नै ल्याएर दाहसंस्कार गर्ने माइती पक्षले जनाएका छन् ।

hatya1

जोगबनी प्रहरी थानाका ईन्चार्ज अफताब अहमदले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा मृतकी श्रीमान् भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदार र छिमेकी शिवानन्द मुखिया रहेका छन् । उनीहरुविरुद्ध मृतकका माईती पक्षले भारतीय प्रहरीमा ज्यान मुद्दा दर्ता गराएका छन् । चार जनामाथि थाना कार्ड नम्बर ३०३ र १९ को दफा ३०४ बि, २०१ र भारतीय दण्ड विधान ३४ अन्तर्गत मुद्दा दर्ता भईसकेको जोगबनी प्रहरी थानाले जनाएको छ ।

रञ्जुको गत फागुनमा भारतको अररिया जिल्ला तकियाका २५ बर्षीय भिमसंग विवाह भएको थियो । विवाह पछि दाइजोको बिषयमा रञ्जुले मानसिक र शारीरिक यातना पाउदै आएकी थिइन् । माईती पक्षले केही समय अघि मात्र मोटरसाईकल खरीद गरेर दिएको मृतकका हजुरबुबा उमालाल सहनीले जानकारी दिए । पछिल्लो समय २ लाख मागेको र त्यो नदिएकै कारण रञ्जुको हत्या भएको उनले बताए ।