पाँचथर : दशैँको अवसरमा पाँचथर कारागार भित्रै सुँगुर काटेर मासु खाँदा बिरामी परेका थप एक जना कैदीबन्दीको मृत्यु भएको छ । यससँगै मासु खाएर मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

मृत्यु हुनेहरुमा कारागारमा कैद भुक्तान गरिरहेका जिल्लाको फिदीम नगरपालिका–१०, का ३४ वर्षीय जयप्रकाश जवेगु, फालेलुङ गाउँपालिका–८, का २५ वर्षीय बुद्धि केरुङ र फालेलुङ–६ का सुन्दर राई रहेका छन् । सुँगुरको मासुसँगै पित्त खाँदा बिरामी परेका सुन्दरको उपचारको क्रममा झापाको बीएण्डसी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको कारागारका प्रमुख सुरेन्द्र मुखियाले बताए ।

उनको शव अहिले जिल्ला अस्पतालमा राखिएको र सोमबार पोष्टमार्टमपछि परिवारलाई जिम्मा दिइने पाँचथर प्रहरीले जनाएको छ । असोज १९ गते राति दशैँको अवसरमा कारागार भित्रै सुँगुरको मासु खाँदा बिरामी परेका चार जनामध्ये बुद्धि केरुङको असोज २० जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो भने जयप्रकाश जवेगुको उपचारको लागि झापातर्फ लैजाँदै गर्दा त्यही दिन राति मृत्यु भएको थियो ।

मृत्यु हुने केरुङ ३ वर्ष अघिदेखि जबरजस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका थिए भने जवेगु कर्तव्य ज्यान अन्तर्गतको मुद्धामा ८ वर्ष अघिदेखि कैद भुक्तान गरिरहेका थिए ।

आइतबार मृत्यु भएका राई पनि जबरजस्ती करणी मुद्धामा ६ वर्ष अघिदेखि कैद भुक्तान गरिरहेका थिए । मासु खाँदा बिरामी परेका कुम्मायक गाउँपालिकाका दिनेश खजुम भने उपचारपछि सामान्य अवस्थामा फर्किसकेका छन् ।