काठमाडौं: आफुसँगको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐन संशोधन नभएको भन्दै डा गोविन्द केसीले पुनः कार्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने सरकारलाई चेतावनी दिएका छन् ।

डा.केसीले आज त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर सरकारलाई यस्तो चेतावनी दिएका हुन् । सरकारले आफ्ना मागहरु पुरा नगरी बिषयान्तर गर्न खोजेको भन्दै डा.केसीले हालसम्मको आन्दोलनका उपलब्धिहरु संस्थागत गर्न सत्याग्रहसहित आन्दोलनको नयाँ चरण सुरु गर्नुको विकल्प नरहेको पनि बताए । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जबाट आजै अवकाश भएका डा.केसीले आफ्नो माग पुरा गर्न सरकारलाई कार्तिक ८ सम्मको अल्टिमेटम पनि दिएका छन् ।

उनले २०७५ साउन १० गते सरकारले आफुसँग गरेको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । डा.केसीले विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तीबारे यसअघि मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुसार निष्पक्ष र पारदर्शीरुपमा पदाधिकारी नियुक्ती गर्ने कानुनी व्यवस्था गर्न माग गरेको छ । डा.केसीले त्रिभुवन विश्वविद्यालयलगायतमा हाल भइरहेको पदाधिकारी नियुक्ती प्रक्रिया तत्काल रोक्न पनि माग गरेका छन् । डा.केसीले नेपालका सबै निजी मेडिकल कलेजले अवैधरुपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गरेर
आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्न पनि माग गरेका छन् । अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानुन बमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्ने पनि डा केसीको माग छ ।

यस्तै, माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायतको संसदीय उपसमितिको निर्णय तत्काल खारेज गर्न पनि डा.केसीको माग छ । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबिबिएस कार्यक्रम सञ्चालन गर्न पनि माग गरेका छन् । यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेको भन्दै उनले त्यसलाई तत्काल स्विकृति दिएर चाडो एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्थाको पनि माग गरेका छन् । साथै, प्रदेश २ र ४ तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम, पाँचथरमा पनि सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन डा.केसीको माग छ ।