धरान: नेपालका नम्बर एक एमेच्योर गल्फर शुक्र बहादुर राई २८ औ संस्करणको भुटान ओपन गल्फ एमेच्योर च्याम्पियन बनेका छन् ।

अन्तिम दिन इभन पार ७० स्कोर गरेका शुक्रले समग्रमा ४ अन्डर २७६ अंक जोडेर च्याम्पियन भएका हुन् । उनले भुटानका जीवाङ गुरुङलाई एक स्ट्रोकले पछि पार्दै उपाधि जिते । अन्तिम दिन आइतबार शुक्रले फ्रन्ट र ब्याक नाइन इभन पारमा पुरा गरेका थिए । उनले दोस्रो, छैठौ र एघारौ होलमा बर्डी खेले भने पाँचौ, आठौं र अठारौ होलमा एक एक सट खेर फाले ।

दोस्रो दिन उत्कृट ९ अन्डर खेल्दै सनसनी मच्चाएका शुक्रको उपाधि यात्रा सहज भने भएन । उनले करियरमै इन्डिभिज्योलतर्फ अन्तर्राष्ट्रिय उपाधि जितेको यो पहिलो पटक हो । सन २०१७ मा भने टंक बहादुर कार्कीसँग टिम इभेन्टमा उपाधि जितेका थिए। शुक्र यो उपाधि जित्ने तेस्रो नेपाली गल्फर हुन् । यसअघि सन १९९३ मा दीपक थापा मगर र सन २०१७ मा टंक बहादुर कार्कीले यो उपाधि जितेका थिए।

भुटानका जीवाङ गुरुङले अन्तिम दिन एक अन्डर ६९ अंक जोडी समग्रमा ३ अन्डर २७७ कासाथ दोस्रो भए। नेपाली खेलाडीहरूको वर्चस्व रहदा २८२ अंकका साथ सुबास तामाङ तेस्रो, पुर्व विजेता टंक बहादुर कार्की २८५ अंकसहित चौथो र २८८ अंक बटुलेका नीरज तामाङ पाँचौ भए। टिम इभेन्टमा नेपालले दोस्रो स्थान प्राप्त गरेको छ । सुबास तामाङ र शुक्र बहादुर राई ३६ होलको प्रतिस्पर्धामा भुटानका जीवाङ लामा र छेन्द्र दोर्जीसँग एक स्ट्रोकले पछि परे। चारदिने च्याम्पियनसिपमा नेपाल , भुटान, बंगलादेश र भारतका ८० खेलाडीको सहभागिता रहेको थियो।