धरान: प्रहरीमाथि नैं अभद्र व्यवहार गरेको आरोपमा असोज १७ गते श्री सुब्बा पक्राउ परेका थिए । यसपाली दशैंमा सुब्बाले प्रहरी हिरासतमा नै समय बिताए ।

राती करिब साढे ११ बजे सुब्बालाई प्रहरीले धरान १५ बगरकोटस्थित भिन्टेज लाउञ्ज एण्ड बारबाट पक्राउ गरेको थियो । राजनैतिक दबाबका बीचमा पनि इलका प्रहरी कार्यालय धरानले सुब्बाविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो । प्रहरीले सुब्बा पक्राउ गरेपछि पहिलो पटक १० दिनको म्याद थप गरेको थियो । पहिलो पटकको म्याद थप भएपछि हिजो सोमबार पुनः दोस्रो पटक म्याद थप गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनका अनुसार दोस्रो पटक ७ दिन हिरासतमा राख्ने अनुमति प्रहरीलाई मिलेको छ । ‘अभद्र व्यवहारमा २५ दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न मिल्छ, दोस्रो पटक ७ दिनको म्याद थप भएको छ,’डिएसपी न्यौपानेले भने ।

पक्राउ परेका सुब्बा समाजवादी पार्टीको युवा संगठनको नेता हुन् । यद्यपी उनीमाथि राजनीतिक संरक्षणको आडमा गलत तथा अवाञ्छित गतिविधि गर्ने गरेको आरोप लाग्दै आएको छ । सुब्बा प्रहरीले निगरानीमा राखेका युवाहरुको सुचीमा पनि छन् । पटक पटक विवाद र पक्राउ पर्ने गरेका सुब्बाले यसपटक राती साढे ११ बजेसम्म पनि बारबाट निस्कन नमानेको र बारका बाउन्सर, सेक्युरिटी गार्डलगायतलाई धम्क्याएको तथा प्रहरीमाथि पनि अभद्र व्यवहार गरेको आरोप छ । प्रहरी प्रशासनले शान्ति सुरक्षालाई मध्यनजर गर्दै राती ११ बजे पछि बगरकोटका होटलहरु पुर्णरुपमा बन्द गर्ने समयसिमा तोकेको छ । दशैंतिहार जस्ता चाडपर्वमा झनै सुरक्षा चुनौती छ । त्यसैले प्रहरीले संवेदनशील क्षेत्रहरुको सुरक्षा निगरानी बढाएको छ ।

यसअघि उनी २०६० सालमा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर ६ बर्ष जेल सजाय भुक्तान गरेर निस्केका थिए । यस्तै, पछिल्लो समय ०७५ भदौ २२ गते अभद्र व्यवहार मुद्दामा १० हजार धरौटीमा छुटेका थिए भने ०७५ फागुन १९ मा पनि सवारी अंगभंग मुद्दामा पक्राउ परेर १ लाख धरौटीमा छुटेका थिए । उक्त घटनामा उनले बगरकोटमा नै मापसे सेवन गरेर कार चलाउदा मोटरसाइकलाई ठक्कर दिदा २ जना गम्भीर घाइते भएका थिए ।