धरान:खरानी गाईज धरान १६ द्धारा आयोजित दशैं–तिहार खुल्ला फुटसल प्रतियोगितामा धरान १३ को गार्डेन फुटसल क्लब च्याम्पियन भएको छ ।

मंगलबार फाइनलमा ग्याटिस फुटसल क्लब धरान १५ लाई ६–० ले हराउंदै गार्डेन च्याम्पियन भएको हो । गार्डेनको जितमा रिवस मास्केले ह्याट्रिक गरे भने मिलन लिम्वुले २ र सुदिप गुरुङले १ गोल गरेका थिए । च्याम्पियन गार्डेनले नगद ३५ हजार, ट्रफी र मेडल हात पार्यो भने ग्याटिसले नगद २५ हजार, ट्रफी र मेडल पायो । खेलको म्यान अफ दि म्याच रिवस मास्के, उत्कृष्ट खेलाडी इचिके राई र उत्कृष्ट गोल किपर सचिन श्रेष्ठ घोषित भए । उनीहरुले जनही नगद २ हजारसहित मेडल प्राप्त गरे । तीनै जना विजयी गार्डेन फुटसल क्लबका खेलाडीहरु हुन् ।

विजेताहरुलाई प्रमुख अतिथि नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव एवम् प्रवक्ता तथा आदिवासी जनजाति सरोकार समाज नेपालका अध्यक्ष सुजेन्द्र गोले तामाङ, विशेष अतिथि नेपाल विद्यार्थी संघ सुनसरी १ का सभापति बालकुमार राई, शेखर थापामगर, सरोज राई, भरत गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा आयोजक क्बलसहित २२ टिम सहभागी रहेको थियो ।