झापा : ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेका झापाका एकजना अभियुक्त पक्राउ परेका छन् । झापा शिवसताक्षी नगरपालिका- ६ का कृष्णगोपाल अग्रवाललाई प्रहरीले समातेको हो ।

कालु, काले तथा किसनजस्ता उपनामले चिनिदै आएका अग्रवाल दुबईमा लुकेर बस्दै आएका थिए । सुन तस्करी गिरोहका नाइके भनिएका अग्रवाललाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको हो । उनी गिरोहका मुख्य लगानीकर्तामध्ये एक भएको प्रहरी दावी छ । दुई साताअघि पक्राउ परेका अग्रवाललाई दुबईबाट नेपाल ल्याउने तयारी भइरहेको छ ।

नेपाल प्रहरीले खोजी सुरु गरेलगत्तै उनी गत वर्ष दुबई भागेका थिए । यसअघि सोही मुद्दामा फरार तीन अभियुक्त दुबईबाटै पक्राउ परेका थिए । प्रहरीका सहप्रवक्ता तथा इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले दुई देशबीच सुपुर्दगी सन्धि नहुँदा पक्राउ परेका अभियुक्तलाई नेपाल ल्याउने प्रक्रिया लम्बिएको बताए ।
सुन तस्करी मुद्दामा १२ जनालाई इन्टरपोलले रेड नोटिस जारी गरेको थियो । जसमध्ये नौजना अझै फरार छन् ।

झापा गौरादह नगरपालिका-१८ का भोजराज भण्डारी, काठमाडौं महानगरपालिका-९ का चेतनाथ भण्डारी, सिरहा धनगढीमाई नगरपालिका-१२ का रोहित आचार्य, सोलुखुम्बु दूधकुण्ड गाउँपालिका-८ का टुकबहादुर मगरविरुद्ध, धरान उपमहानगर-२ का कृष्ण बस्नेत, धरान उपमहानगरपालिका-३ का मोहनकुमार अग्रवाल, झापा मेचीनगर नगरपालिका-१३ का मोहम्मद उस्ताम मियाँविरुद्ध ‘रेड नोटिस’ जारी भएकोमा अहिलेसम्म पक्राउ गरिएको छैन । त्यस्तै, फरार अभियुक्तद्वय प्रयास पराजुली र सन्दीप खड्काविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी भएको छ ।