धरान: धरान उपमहानगरपालिकाले कृषि वडा घोषणा गरेको ४ वटा वडामध्ये दुई वडामा दुई खालको फौजी किराले किसानहरुलाई आक्रान्त पारेको छ ।

कृषि वडा घाृषित वडा नं ५ र १७ मा रैथाने र अमेरिकन फौजी किराले वाली सखाप बनाएको छ । वडा नं ५ मा धानवालीमा रैथाने फैजी किराको प्रकोपले धानवाली सखाप हुने अवस्थामा छ भने वडा नं १७ मा अमेरिकन फौजी किराको प्रकोप छ । यी दुई किरामध्ये रैथाने फौजीले पाकेको धानवाली नष्ट गर्छ भने अमेरिकनले हरियो मकै, कोदो, सागलगायतलाई नष्ट गर्छ । फैजी किराले अन्नवाली सखाप पार्न थालेपछि वडा ५ र १७ का किसानहरुले धरान उपमहानगरपालिकालाई गुहारेका छन् । उनीहरुले किराको प्रकोपको उचित रोकथाम र नष्ट भएको बालीको क्षतिपूर्ति एवं राहत दिलाउन सरकारसँग माग पनि गरेका छन् ।वडा नं ५ का किसान शुक्रबहादुर सम्बाहाम्फेका अनुसार धानवाली सखाप हुने अवस्था भएपछि उपमहानगरलाई गुहार्न बाध्य भएको बताए । ‘मेरो बर्षभरि खान पुग्ने धान उब्जाउ हुन्थ्यो, यसपाली त सखापै भयो,’उनले भने,‘६ मुरी फल्ने धान ५० पाथी पनि भएन, विजोग बनायो ।’

dhan

पीडित किसानहरुले गुहारेपछि उपमहानगरपालिकाअन्र्तगतको आर्थिक विकास समिति संयोजक कैलाश अग्रवालसहितको टोलीले स्थलगत अवलोकन गरेका थिए । समितिले इटहरीको तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका विज्ञहरुलाई बोलाएर आज बुधबार पुनः वडा ५ र १७ को प्रकोप क्षेत्रमा स्थलगत अवलोकन गराएको थियो । कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीसहितको टोलीले फौजी किराको नमुनासमेत संकलन गरेको छ । कृषि अनुसन्धानबाट किरा विज्ञ किसोर भण्डारी र बाली विज्ञ सन्तोष त्रिपाठी आएका थिए ।

किरा विज्ञ भण्डारीका अनुसार वडा ५ मा फैलिएको रैथाने फैजी किरा मिथिम्ना सेपाराटा प्रजातिको हो भने वडा १७ मा फैलिएको अमेरिकन फौजी किरा स्पोडोप्टेरा फ्रुजीपेरडा प्रजातिको हो । रैथानेले पाकेको धानको कलिलो वाला खाइदिने भएकोले पाकेको धान भुँइमा खसेर खेर जान्छ । अमेरिकनले भने हरियो वाली सबै खाइदिन्छ ।

makai

स्थलगत अवलोकन पछि कार्यवाहक मेयर भण्डारीले किसानहरुलाई प्रकोपबारे र प्रकोपबाट अन्नवाली जोगाउने बिषयमा विज्ञसहित जानकारीमुलक कार्यक्रम गर्न मातहतको आर्थिक विकास समितिलाई निर्देशन दिएका छन् । यस्तै, प्रकोप न्युनीकरण गर्न विज्ञहरुको सुझाव अनुसार बिषादी स्प्रे गर्नेलगायत कार्य तत्काल अघि बढाएर अन्नबाली जोगाउन पनि निर्देशन दिएको बताइन् । यस्तै, क्षतिको यकिन विवरण संकलन गरेर राहतको लागि पनि आवश्यक पहल गर्ने उनले बताइन् । ‘धान ८० प्रतिशत पाकेको छ भने पनि काटेर थन्क्याइहाल्नुपर्ने रहेछ, यो बारे पनि किसानहरुलाई जानकारी गराउदैछौं,’उनले भनिन् ।

bali-kira dhan-bali2