धरान: भोजपुरबाट बिक्रीको लागि चतरातर्फ ल्याउदै गरेको खसी बोकालाई बराहक्षेत्र मन्दिर नजिक झोलुङ्गे पुलमा रोकेर प्रहरीले दुःख दिएको व्यापारीहरुले गुनासो गरेका छन् ।

बराहक्षेत्र मन्दिर उत्तरको पुलमा पार गर्न नदिई प्रहरीले दुःख दिइरहेको व्यापारीहरुको गुनासो छ । आज साँझ भोजपुरबाट ६ जना व्यापारीले ल्याएको ६६ वटा खसी बोकालाई प्रहरीले पुल पार गर्न नदिएर दुःख दिएको व्यापारी जंग कार्कीले बताए । उनका अनुसार झण्डै १ घण्टासम्म प्रहरीले उनीहरुलाई पुल पार गर्न दिएनन् । ‘पुजाको लागि खसी देउ भन्दै रोके, हामीले झगडा नै गर्यौं । एक घण्टा जति रोक्यो,’कार्कीले भने,‘हामी भन्दा अघि र पछि कसैलाई पनि रोकेनन् ।’ अर्का व्यापारी हफाज मियाँले पनि आधा दाममा खसीबोका किन्न माग्ने र दुःख दिने गरेको बताए ।

यता, जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवं प्रवक्ता विनोद शर्माले सिमा क्षेत्रबाहेक अन्यत्र खसीबोका ओसारपसारमा रोक नलगाएको बताए । पहाडी जिल्लाबाट तराईमा झार्न अवरोध नहुने भन्दै उनले भने,‘मन्दिर समितिसँगको बैठकले फोहोर गर्ने भएकोले अर्को तलको बाटोबाट लैजाने भन्ने निर्णय भएको रहेछ । दुःख दिएको होइन, त्यसो भन्दा व्यापारीले दुःख दिएको भन्या होलान् ।’

तस्बिर क्याप्सन: गएको दशैंअघि धरान १३ स्थित कृषि बजारस्थलको साप्ताहिक पशुहाटमा खसीबोका किनबेच हुदै ।