नेपालगन्ज: जवान पदको तालिम लिइरहेकी एक महिला प्रशिक्षार्थीलाई बलात्कार गरेका आरोपमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक(सई) पक्राउ परेका छन् । यो घटना जिल्ला प्रहरी कार्यालय नेपालगञ्जको हो ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा तालिम लिईरहेकी महिला प्रशिक्षार्थी सईद्धारा नै बलात्कृत भएकी हुन् । बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले सई रानालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । सई राना तालिम केन्द्रमा नै कार्यरत थिए । घटनाको पुष्टि गर्दै कर्णाली प्रदेश प्रहरी प्रमुख एवं डिआइजी पुर्णचन्द्र जोशीले बलात्कारको घटना सार्वजनिक भएपछि पीडितको बयानका आधारमा सई रानामाथी अनुसन्धान सुरु गर्न निर्देशन दिइएको बताए । डिआईजी जोशीले भने, घटनाको निश्पक्ष अनुसन्धान गर्न बाँके प्रहरीलाई निर्देशन दिइसकेको छुँ ।

प्रहरी स्रोतका अनुसार सई रानाले तीन दिनअघि ब्यारेकभित्रै बलात्कार गरेको पीडितको भनाई छ । पीडित जवान ३ महिनादेखि तालिममा थिइन् । पीडितका आफन्तले दोषीमाथी कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । पीडितले जाहेरी दिएपछि रानालाई पक्राउ गरेर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको बाँके प्रहरी प्रवक्ता एवम् डिएसपी शिव सिंहले बताए ।