हङकङ : अमेरिकी संसद्ले हङकङका प्रदर्शनकारीको पक्षमा एउटा विधेयक पारित गरेको छ । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले "हङकङ ह्युमन राइट्स एन्ड डेमोक्रेसी एक्ट" सर्वसम्मत पास गरेको छ । हङकङका प्रदर्शनकारीको पक्षमा अमेरिकाले विधेयक नै पास गरेपछि चीनले आपत्ति जनाएको छ । विधेयकले कानुनको रूप लिए त्यसले चीन-अमेरिका सम्बन्धलाई नै क्षति पु‍र्‍याउने चेतावनी चीनले दिएको छ । माथिल्लो सदन सिनेटबाट भने विधेयक पारित हुन बाँकी छ । अमेरिकी विधेयकको हङकङका आन्दोलनकारीले स्वागत गरेका छन् ।

हाउस अफ रिप्रिजेन्टेटिभबाट पारित भएको सो विधेयकलाई हङकङमा गत जुन महिनामा प्रदर्शन सुरु भएलगत्तै पेस गरिएको थियो । ‘हङकङ चीनको अभिन्न अंश हो, तर उसको अलग्गै कानुनी र आर्थिक प्रणाली छ,’ विधेयकमा भनिएको छ । हङकङको आधारभूत कानुनले रक्षा गरेको हङकङको नागरिक स्वतन्त्रता र विधिको शासनलाई चीनले अतिक्रमण गरेको विधेयकमा जनाइएको छ ।

शान्तिपूर्ण आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई अमेरिकाले भिसाको अनुमति दिनुपर्ने समेत विधेयकमा उल्लेख गरिएको छ । अन्तर्राष्टिय तहमा मान्यता दिइएको मानवअधिकारको उपयोग गरिरहेको अवस्थामा प्रदर्शनकारीलाई यातना दिने व्यक्तिलाई अमेरिकाले प्रतिबन्ध लगाउनुपर्ने विधेयकमा जनाइएको छ ।

चीनको आपत्ति
विधेयक पारित गरेपछि हङकङमा हस्तक्षेप नगर्न अमेरिकाले चीनलाई चेतावनी दिएको छ । ‘तल्लो सदन हाउस अफ रिप्रिजेन्टिेटिभबाट कथित हङकङ ह्युमन राइट्स एन्ड डेमोक्रेसी एक्ट पारित भएकोमा चीनले कडा विरोध गर्छ,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता जेङ सुआङले भनिन् । विधेयक पारित भएमा अमेरिकासँग चीनको सम्बन्ध बिग्रिने चीनले चेतावनी दिएको छ ।