काठमाडौं: नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको दाङमा गोप्यरुपमा भएको ब्युरो बैठकमा छापा मारेर प्रहरीले माथिल्लोस्तरका नेताहरु पक्राउ गरेको छ ।

प्रहरीले दाङको राजपुर गाउँपालिका ४ स्थित जंगलमा भइरहेको ब्युरो बैठकमा छापा मारेर २१ जनालाई पक्राउ गरेको हो । प्रहरीले सुचना पाएर निरन्तर रेकी गरेपछि गए राती जंगलमा छापा मारेको थियो । पक्राउ पर्नेहरुमा विप्लवका दाजु तथा मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द पनि छन् । दाङ प्रहरीका प्रवक्ता विनोदविक्रम शाहले घटनाको पुष्टि गर्दै केन्द्रीय तहका २१ जनालाई नियन्त्रणमा लिएको बताए । पक्राउ परेकाहरुलाई सदरमुकामतर्फ लैजाने काम भइरहेको शाहले बताए ।

पक्राउ परेकाको साथबाट महत्वपूर्ण दस्तावेज, चन्दा मागिएका विवरण, ३२ थान मोबाइल, विष्फोटक पदार्थलगायतका सामग्री बरामद भएका प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुको विस्तृत जानकारी भने प्रहरीले दिएको छैन । तथापी, स्रोतका अनुसार मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्दसँगै केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायत रहेका छन् ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार राजपुर ४, मरेठामा विप्लव समूहका नेताहरु तीन दिनदेखि बसिरहेको गोप्य सुचनाको आधारमा प्रहरीले गएराति १ बजे छापा मारेको थियो । भारतसँग सीमा जोडिएको त्यस क्षेत्रमा रहेको घना जंगलभित्र पनि केही घर थिए । तीमध्ये ज्ञानेन्द्र ओलीको घरमा विप्लव समुहको बैठक चलिरहेको थियो । घरधनी ज्ञानेन्द्र भने विदेशमा भएकोले घर खाली थियो । त्यही विप्लव समूहका नेताहरुको बैठक भएको ती प्रहरी अधिकारी बताउँछन् ।