काठमाण्डौं: आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका चर्चित टेलिभिजन कार्यक्रम जनतासँग सिधा कुराका प्रस्तोता रवि लामिछानेलाई धरौटी माग गर्ने चितवन जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको छ ।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनबाट धरौटी माग गर्ने आदेश सदर गरे पनि अन्य सर्तहरु भने उच्च अदालत हेटौडा इजलाशले वदर गरिदिएको छ । उच्चको यो आदेशसँगै अब लामिछाने विदेश जान अदालतसँग अनुमति लिनु नपर्ने भएको छ भने उनले टेलिभिजनमा पनि जुनसुकै बिषयमा कार्यक्रम चलाउन पाउने भएका छन् । उच्च अदालतका न्यायाधीशद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशबाट यो आदेश भएको हो । यसअघि, जिल्ला अदालतले लामिछाने र युवराज कँडेललाई धरौटी माग गरेको थियो भने विदेश जादा अदालतको अनुमति लिनुपर्ने र पुडासैनी आत्महत्या प्रकरणमा कार्यक्रम चलाउन नपाउने सर्त राखेको थियो ।

जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले भदौ २३ गते उच्च अदालतमा निवेदन दिएका थिए । पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा लामिछानेसहित कँडेल र अस्मिता कार्की पक्राउ परेका थिए । लामिछाने ५ लाख, कँडेल ३ लाख धरौटीमा र कार्कीलाई साधारण तारेखमा रिहा भएका थिए । सरकारी पक्षले लामिछानेलाई धरौटीमा रिहा गर्ने निर्णय बदर गरेर थुनामा पठाउनु पर्ने माग गरेको छ।