धरान: अमेरिकी सरकारले इडिभि फारम भर्न पासपोर्ट अनिवार्य गरेपछि फारम भर्नेहरुको संख्यामा कमी आएको छ । तर, इडिभि भर्नकै लागि पासपोर्ट बनाउनेको संख्यामा भने उल्लेख वृद्धि भएको छ ।

अमेरिकी सरकारले इडिभि भर्नको लागि पासपोर्ट नम्बर र पासपोर्टको डेट एक्स्पायर मिति अनिवार्य फारममा भर्नुपर्ने नीति बनाएको छ । पासपोर्ट हुने जोकोहीले इडिभि फारम भर्न सक्छन् भने नहुनेहरु बञ्चित हुन्छन् । इडिभि फारम भर्ने मिति यही कार्तिक १९(नोभेम्बर ५ तारिख)सम्म छ । पुर्वक्षेत्रकै सबैभन्दा बढी इडिभि पर्ने गरेको धरान छाताचोकस्थित एप्पल डिडिजलका प्रिन्टर्सका प्रोपाइटर विष्णु वरालका अनुसार पोहोरको तुलनामा ३० प्रतिशतले मात्र इडिभि फारम भरेका छन् । ‘पहिला विद्यार्थी र गृहणीहरुले बढी भर्थे, उनीहरुसँग पासपोर्ट नहुने भएकोले यसपाली संख्या एकदमै कम छ,’वरालले भने,‘फारम भर्न आएकाहरु पासपोर्ट चाहिन्छ भनेपछि त्यसै फर्किन्छन् ।’

edv1

यसपाली डिभि कोटा विश्वभरिको लागि अमेरिकी सरकारले बढाइदिएको छ । तर, पासपोर्ट अनिवार्य चाहिने नीतिले नेपालमा भने इडिभि भर्नेको संख्यामा कमी छ । अमेरिकी सरकारले गत बर्षभन्दा ५ हजार कोटा बढाएर यसपाली विश्वभरिको लागि ५५ हजार दिएको छ । ‘काठमाण्डौंमा त डिभि भर्ने फर्महरुले आफै पासपोर्ट पनि बनाइदिने भनेर विज्ञापन पनि गरिरहेका छन्’एप्पलका प्रोपाइटर वराल भन्छन्,‘यहाँ धरानेहरु काठमाण्डौं गएर डिभि भर्नकै लागि पासपोर्ट बनाइरहेका छन् ।’ पुर्वाञ्चलमा सबैभन्दा बढी भिडि पर्ने एप्पल डिभिटल पिन्टर्सबाट गत बर्ष २०१८ मा फारम भरेकाहरुमध्ये २२ जनालाई परेको थियो ।

edv0