झापा: केही समयअघि झापाका विभिन्न गाउँपालिका तथा नगरपालिका क्षेत्रमा देखिएको फौजी किराको प्रकोप नियन्त्रणमा आएको छ ।

कृषि ज्ञान केन्द्र झापाले दिएको जानकारी अनुसार धान बालिमा लाग्ने फौजी किराको प्रकोप, ज्ञान केन्द्रको प्राविधिक सहयोग, स्थानीय तहका कृषि प्राविधिक तथा जनप्रतिनिधिहरुको सक्रियतामा नियन्त्रणमा आएको हो । झापाको गौरादहको ५ र ६, गौरीगञ्जको १ र ५, झापाको ३, कन्काइको ५, कमलको २, हल्दीबारीको ४ र ५ वडामा देखिएको फौजी किराको प्रकोप हाल नियन्त्रणमा आएको ज्ञान केन्द्रले जनाएको छ । झापा जिल्लाको कुल ८७ हजार ३ सय हेक्टरमा धान बालि लगाइएकोमा २ सय ८३ हेक्टरमा फौजी किराको प्रकोप देखिएको ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताए ।

bali-kira

फौजी किराको प्रकोप हाल नियन्त्रणमा आए पनि बेलैमा सचेत नभए यस किराले फेरि पनि दुख दिन सक्ने सिंहले बताउनुभएको छ । सचेत रहन र धान बालिमा लाग्ने फौजी किराको आतंकबाट वच्न वेला वेलामा औषधि प्रयोग गर्न समेत सिंहले कृषकहरुलाई आग्रह गरेका छन् । झापामा नियन्त्रणमा आएपनि मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा भने प्रकोप कायमै छ । विज्ञहरुका अनुसार नेपालमा रैथाने र अमेरिकन फौजी किराको प्रकोप छ । रैथानेले पाकेको धानको वाला खाइदिएर फल भुँइभरि झरेर नष्ट हुन्छ भने अमेरिकन फौजीले भने धान, मकै, कोदो, सागलगायत सबै हरियो अन्नवाली खाएर नष्ट हुन्छ ।