इटहरी : गत वर्ष नै इटहरीमा रात्रीकालीन बजार लगाउने भनिएको भएपनि अहिलेसम्म काम अगाडि बढेको छैन । गत वर्षको कात्तिक भित्रै रात्रीकालीन बजार लगाउने उद्धघोष गरेकी इटहरीकी उपमेयरले एक पत्रकार सम्मेलनमा हामीले विगतमा ढाट्यौँ, अब काम गर्छौँ भनेको दुई वर्ष बितिसक्दा समेत रात्रीकालीन बजार लगाउन अझै आलटाल गरिएको छ ।

इटहरीका तत्कालिन डीएसपी शिव श्रेष्ठले इटहरीमा रात्रीकालीन बजार लगाउनका लागि पूर्वाधार तयार हुनुपर्ने र भौतिक संरचनाको समेत अनुगमन भए आँफूहरु सुरक्षा दिन पछि नहट्ने बताएका थिए । तर, अहिलेसम्म इटहरीमा रात्रीकालीन बजार लगाउन आलटाल गरिएकाले इटहरीका व्यवसायीहरुमा निराशा छाएको छ । इटहरीको आईतबारे देखि टेलिकमसम्म रात्रीकालीन बजार लगाउने उपमहानगरपालिकाले निर्णय गरेको थियो । रात्रीकालीन बजार लगाउने उपमहानगरको निर्णयप्रति स्थानीय व्यवसायीहरु उत्साहित भएका थिए । तर, व्यवसायीहरु उत्साहित भएको केही महिनामै निराशा हुनुपर्यो । उपमेयर गौतमको नेतृत्वमा बजार विस्तार गर्न छनोट समिति गठन गरेको भएपनि काम नहुँदा स्थानीय मानिसमा निराशा छाएको थियो ।
तर, अहिले यहाँ रात्रीकालीन बजार विस्तार गर्नका लागि आँफूहरु काम गरिराखेको व्यवस्थापन समितिका संयोजक कृष्ण भट्टराईले जानकारी दिए । तिहारसम्ममा उद्दघाटन गर्ने भन्ने कुरा भएको छ, उनले भने, “अहिले हामीले रंगरोगनको काम सकेका छौँ, एउटा सिसि क्यामेरा लगाउने भन्ने कुरा छ । उनले नगरपालिकाले ८ वटा सिसि क्यामेरा जडान गर्ने प्लान गरेको भएपनि तत्काल एउटा मात्र लगाउने जानकारी दिए । डेकुरेशनको काम पनि गरिराखेका छौँ, उनले भने, पोलमा रंगरोगन सकेर दुईवटा फ्रि वाइफाई राखिएको छ ।”

भट्टराईले अहिले राती ११ बजेसम्म बजार लगाउने बताउँदै भने, भएका पसलहरुले रातीसम्म सञ्चालन गरुन् भन्ने नै हो, त्यस्तो तामझाम केही छैन, दीर्घकालीन सम्म चल्यो भने एकैरुपका ठेलाहरु राख्ने कुरा छ । उनले अहिले पनि इटहरीमा साँझको ७ बजे देखिनै व्यवसायीहरु आतंकित हुनुपर्ने रहेको तर्क गर्दै अन्य ठाउँहरुमा उदाहरण देखाउँनका लागि पनि रात्रीकालनि बजार लगाउने तयारी गरिराखेको जानकारी दिए । शान्ति सुरक्षाका लागि कुनै चिन्ता लिनुपर्दैन, हामीले अहिले भइराखेका पसलहरुलाई राती अबेरसम्म लगाउने मात्र हो, प्रहरीसँग र गृह मन्त्रालय सँग कुरा भएको छ, शान्ति सुरक्षामा चुनौती छैन ।
उनले रात्रीकालीन बजारमा डिक्सोे, बार नहुने बताउँदै अलिक पछि दीर्घकालीन रुपमा बजार सञ्चालन हुने भए त्यहाँ नजिकै प्रहरी बिट समेत राख्ने जानकारी दिए । उक्त क्षेत्रमा १० वटा सौर्य बत्ती, ८ वटा सिसि क्यामेरा, पोल, गमला र रंगरोगन गरेर २९ लाख रुपैँया उपमहानगरपालिकाले बजेट बिनियोजन गरेको बताए ।