काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार र आइतबार पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश तथा स्थानीय निकायसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखा प्रमुख केदार पराजुलीले पहिलो चरणअन्तर्गत ७५३ वटै स्थानीय निकायका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाउने कार्यक्रम रहेको जानकारी दिए । पराजुलीले भिटामिन ए सँगै महिला स्वास्थ्य स्वयंसेविकाबाट छ महिनादेखि पाँच वर्षसम्मका २७ लाख बालबालिकाको पोषण स्थिति जाँच गर्न ‘एमयूएसी’ टेपबाट पाखुराको नाप लिने जानकारी दिए ।

६ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई बालबिटा ट्याब्लेट बाँड्ने योजनासमेत रहेको पनि पराजुलीले बताए । भिटामिन ए कार्यक्रमका लागि सबै स्थानीय तहमा कार्यरत ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई परिचालित गरिने छ ।