धरान: कार्यालय र डिउटी समयमा रक्सी पिउने गरेपछि धरान ४, पत्रांबारीस्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज तथा असई पिताम्बर अधिकारीलाई २ दिनअघि कारबाही स्वरुप इलाका प्रहरी कार्यालय तानेको थियो ।

अहिले तिनै असई अधिकारीमाथि बोल्न नसक्ने एक एकल महिलालाई करणी गरेको आरोप पनि लागेको छ । स्थानीय एक महिलाले करणी गरेको किटानीसहित ठाडो उजुरी दिएपछि असई अधिकारीमाथि बलात्कार गरेको बिषयमा पनि इलाका प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको छ । करणीबारे उजुरी परेपछि आज बिहान वडा ४ मा गएर स्थलगत मुचुल्का पनि उठाएको छ ।

४ नं वडा कार्यालयका सदस्य धनबहादुर कुलुङका अनुसार २ दिन अघि नै इलाका तानिएका अधिकारीविरुद्ध करणी गरेको पनि निवेदन परेपछि आज मुचुल्का उठाइएको हो । ‘करणी गरेको ठाडो निवेदन परेपछि आज प्रहरी आएर मुचुल्का उठाएर गएको छ,’उनले भने । इलाका प्रहरी कार्यालयले भने घटनाबारे मौनता साँधेको छ ।

डिएसपी ढुण्डीराज न्यौपानेलाई मोवाइल सम्पर्क गर्दा घटनाबारे बुझ्न काम भइरहेको र पछि सम्पर्क गर्ने बताए । स्थानीयबासीका अनुसार असई अधिकारी मातेर लठ्ठ हुने गर्थे भने स्थानीयलाई खसी, मासु, रक्सीलगायत मागेर सताउने गर्थे । ‘एकदमै घुस्याहा खालको थियो, साह्रै दुःख दिएको थियो,’एक स्थानीयले भने ।