काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महराले आफुमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले फेरि बोली फेरेकी छन् ।

आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै महानगरीय प्रहरी वृत्त तीनकुनेमा लिखित जाहेरी दिएकी उनले जिल्ला अदालत काठमाडौंमा त्यसको ठीक विपरीत लिखित निवेदन दर्ता गराएकी छन् । असोज १५ गतेको मितिमा पति चित्रजंग शाहीलाई रोहवरमा राखेर लेखिएको निवेदन महानगरीय प्रहरी वृत्त तीनकुनेले बुझ्न अस्वीकार गरेपछि उनले जिल्ला न्यायाधीश बाबुराम सुवेदीसमक्ष बुझाएकी हुन् । महरालाई दोस्रो पटक म्याद थपका लागि उपस्थित गराएसँगै रोशनीले प्रहरीको दबाबमा उजुरी दिएको भन्दै जिल्ला अदालतका न्यायाधीश सुवेदीको इजलासमा घटनामा पनि कुनै सत्यता नरहेको तर्क गरेकी छन् ।

‘असोज १२ गते रातिको समयमा मैले बेहोसी अवस्थामा घटना भएको भन्दै प्रहरीको कन्ट्रोल नम्बर एक सयमा फोन गरी प्रहरीलाई बोलाउन पुगेछु । मैले फोन गरेपछि प्रहरी आएर कोठामा खानतलासी गर्दा कसैलाई भेट्टाउनु भएनछ’, उनको निवेदनलाई उल्लेख गर्दै अदालत स्रोतले भन्यो, ‘प्रहरी गएपछि पनि मैले कस–कसलाई बोलाए । के के भने थाहा पाइन । म पछि होसमा फर्केर सामान्य अवस्थामा आउँदा विभिन्न मिडियामा मेरो र कृष्णबहादुर महराको नाम जोडेर विभिन्न किसिमका लाल्छना लगाउँदै आएका समाचार पढेर म नै अचम्ममा परेँ ।’ उनले असोज १२ गते राति आफ्नो कोठामा महरा आउँदै नआएको तर्क फेरि गरेकी छन् ।

‘उक्त दिन कृष्णबहादुर महरा मेरो कोठामा आउनु नै नभएकाले मिडियामा बाहिर आएका कपोलकल्पित समाचारहरु सबै झुटा छन् भनी यो निवेदन पेश गरेकी छु । मेरो मानसिक तथा शारीरिक अवस्थाको फाइदा उठाइ गलत प्रचार गर्ने सम्पूर्ण समाचारहरु तथ्यहीन भएकाले खण्डनसमेत गदर्छु’, उनले पेश गरेको निवेदनमा उल्लेख छ । प्रहरीको बहकाउमा परेर जाहेरी दिन पुगेको उनको तर्क छ । ’प्रहरीको बहकाउमा आएर कृष्णबहादुर महराविरुद्ध जाहेरी दिन बाध्य भएँ’, न्यायाधीशलाई सम्बोधन गर्दै अदालतमा बुझाइएको निवेदनमा भनिएको छ, ‘पुलिसले मलाई जवरजस्ती जाहेरी दिन लगायो । पुलिसले जवरजस्ती उजुरी लेखाएको हो, मैले बहकाउमा आएर उजुरी दिएँ ।’