काठमाडौं: निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगले यही कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले आज विज्ञप्ती जारी गर्दै न्याय परिषद्को परामर्शमा ३७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतकोरुपमा नियुक्ती गरेको जानकारी दिएको हो । यस्तै, न्याय सेवा आयोगको परामर्शमा ११ नेपाल न्याय सेवाका राजपत्राङ्कित द्धितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको पनि आयोगले जनाएको छ ।

आयोगको निर्णय अनुसार धरानको मुख्य निर्वाचन अधिकृतकोरुपमा सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधिश राधाकृष्ण उप्रेती तोकिएका छन् । धरानमा मेयर पद र वडा नं ७ को वडाअध्यक्ष पदको लागि उपनिर्वाचन हुदैछ । मंसिर १४ मा ३७ जिल्लाका विभिन्न रिक्त पदमा उपनिर्वाचनको तीब्र तयारी भइरहेको हो । ती मध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ।