इटहरी : राष्ट्रिय खेलकुद परिषदका निवर्तमान सदस्य सचिव केशबकुमार बिष्टले खेलकुदलाई बाइपास गर्ने सहर गुण्डाहरुको हुने तर्क गरेका छन् ।

तरहरामा जारी जेसीज सप्ताहअन्र्तगतको दोस्रो कार्यक्रम एरिया स्तरीय अन्तर जेसीज फुटसल प्रतियोगिताको उद्घाटन गर्दै बिष्टले भने,'जुन ठाउँमा खेलकुदलाई बाइपास गरिन्छ, त्यो ठाउँ गुण्डाहरुको सहर हो । जुन ठाउँमा खेलकुद हुँदैन त्यो सहर सभ्य हुँदैन ।' बिष्टले नेपाली समाजमा छोराछोरीलाई खेलकुदमा नपठाउने चलन उचित नभएको भन्दै आम मानिसले खेलकुद सिक्न जरुरी भएको बताए । उनले खेलाडीहरु सभ्य र अनुशासित रहने बताउँदै भने,'तरहरालाई समृद्ध बनाउँने हो भने खेलकुदलाई अगाडि बढाउँनुहोस्, बिजुलीको खम्बा गाडेर मात्र विकास हुँदैन ।' 

इटहरीलाई स्पोर्ट सिटिको रुपमा अगाडि बढाउने धारणा राख्दै उनले खेलकुदबाटै रोजगारी, व्यापारिक विकास र पर्यटकीय केन्द्र बनाउन सकिने बताए । हरेक खेलाडीले आफ्नो जीवनभर देशलाई जिताउन संघर्ष गरिरहने बताए । उनले भने,'हामी खेलाडीहरु खेल भइरहँदा खुट्टामा हान्छौँ, बक्सिङमा रगताम्मे हुने गरि कुट्छौँ, तर अन्तिममा अंगालो मारेर छुट्छौँ, अहिलेको राजनीति गर्ने मानिसहरुले यो सिक्न जरुरी रहेको छ ।'

इन्द्रपुर बिजयी

सोमबार इटहरी २० तरहरामा भएको एरिया ए स्तरीय अन्तर जेसीज प्रतियोगितामा १४ वटा टिम सहभागी भएका थिए । जसमध्ये इन्द्रपुर जेसीज र तरहरा जेसीज ए बीच भएको फाइनल खेलमा इन्द्रपुर जेसीजले तरहरा जेसीजलाई ५–३ गोल अन्तरले पराजित गरेको थियो । बिजयी टिमले प्रमाण पत्र, मेडल र ट्रफि हात पारेको कार्यक्रम संयोजक उमेश राईले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय फुटसल खेल युवाहरुमाझ निकै लोकप्रिय रहेको र जेसीज बीच सम्बन्ध सुमधुर बनाउँन समेत खेलको आयोजना गरेको बताए । कार्यक्रममा पूर्व अध्यक्ष मेदन कुमार घिमिरे लगायतले बोलेका थिए भने मुल संयोजक बसन्त घिमिरेले स्वागत मंतब्य राखेका थिए । अध्यक्ष विकास गिरीको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रम महासचिव सुमन दाहालले कार्यक्रम सञ्चालन गरेका थिए ।