काठमाडौँ: नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता गर्ने निर्णय गरेको छ । तर, वार्ताको लागि उसले दुई सर्त अघि सारेको छ ।

पार्टीको आठौं पुर्ण बैठक पछि महासचिव विप्लवले जारी गरेको प्रेश विज्ञप्तमिा वार्ताको लागि पार्टी माथिको प्रतिबन्ध हटाउनुपर्ने र नेता–कार्यकर्तालाई निःसर्त रिहा गर्नुपर्ने सर्त अघि सारेको छ । सरकारले अघि सारेको वार्ताको कुरा पत्याउन लायक लायक नभएको पनि बैठकले निष्कर्ष निकालेको विज्ञप्तीमा जनाइएको छ । दुई दिन चलेको बैठकको स्थल भने खुलाइएको छैन । केपी ओली नेतृत्वको सरकारका कारण मुलुकको स्वाधीनता र सार्वभौमिकता दिन प्रतिदिन संकटमा पर्दै गएको बैठकले निष्कर्ष निकालेको छ ।

राज्यको नियन्त्रणमा परेका समयमा पार्टी नीतिविपरीत जनतामा गलत समाचार पुग्ने गरी आत्मसमर्पण गर्ने, समन्वय गर्ने नेता–कार्यकर्तालाई कारबाही गरिएको समूहले जनाएको छ । केन्द्रीय सदस्य गुणराज लोहनीलाई भने स्वास्थ्यका कारण काम गर्न कठिनाइ भएकाले जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ । बैठकमा सामाजिक फाँसीवाद, दलालीकरण र सरकारी भ्रष्टाचारका विरुद्ध सम्पूर्ण देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबन्दी गर्ने र संयुक्त संघर्ष सञ्चालन गर्ने निर्णय भएको विज्ञप्तिमा छ ।

biplop1

‘सरकारले आफ्नो फाँसीवादी दमनलाई ढाकछोप गर्न ‘वार्ता’ को हतियार प्रयोग गरिरहेका सन्दर्भमा पार्टीले षड्यन्त्रपूर्ण वार्ता प्रचारलाई भन्डाफोर गर्ने तर इमानदारीसाथ प्रतिबन्ध हटाएर गिरफ्तार कमरेडहरूलाईछोडेर निःसर्त आएमा सकारात्मक रूपले सोच्ने निर्णय लिएको छ,’ चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले नेपाली राजनीति, एकीकृत जनक्रान्ति, संयुक्त मोर्चा, ध्रुवीकरण, पार्टी शुद्धीकरण, आर्थिक अभियान, पार्टी पुनर्गठन दिवसलगायत प्रस्तावहरूमा छलफल गरेको विज्ञप्तीमा उल्लेख छ ।

बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो क्षेत्रगत प्रतिवेदन पेस गरेका थिए । उनीहरूले सरकारको प्रतिबन्ध, हत्या अपरेसन, गिरफ्तारी र केही गम्भीर क्षतिका बाबजुद पार्टी जनताका बीचमा स्थापित र अनुशासित बन्दै गएको रिपोर्ट गरेका थिए । नयाँ पूर्णकालीन कार्यकर्ता बढ्दै गएको, सेनामा भर्ती बढिरहेको उनीहरूले उल्लेख गरेका थिए । महासचिव चन्दले ‘आफैंलाई रूपान्तरण गर्दै पार्टीलाई शुद्धीकरण गरौं, फाँसीवादको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तिलाई नयाँ उचाइमा उठाऔं’ शीर्षक राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

biplop25