इटहरी : गत असोज २३ गते मोरङको सुन्दरहरैचामा इटहरी २ स्थित तिरुपति मेडिकल पसल सञ्चालन गर्दै आएका नरेश यादवलाई प्रहरीले पक्राउ गर्यो । लागूऔषध बिक्री गर्ने गरेको सुचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार यादवले इटहरीमा मेडिकल चलाएर लामो समयदेखि औषधी मात्र होइन, लागूऔषधको पनि कारोबार गरिरहेको थियो । मेडिकल पसलबाट लागूऔषध कारोबार गर्नेहरु उनी मात्र थिएनन् । हिजो सोमबार प्रहरीले इटहरी ११ स्थित खनारका बीर नारायण मेडिलकल हलका सञ्चालक उमेश चौधरीलाई पनि पक्राउ गरेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले जानकारी दिए । उनका अनुसार उक्त मेडिकलबाट लागूऔषध कारोबार भइरहेको थियो ।

प्रहरीले राती ७ बजे चेकजाँचको क्रममा को ३४ प ६२ नम्बरको मोटरसाईकलमा सवार बुढिगंगा गाउँपालिका ७ का २२ बर्षीय राहुल उराव र पछाडी सवार रहेका सुन्दरहरैचा नगरपालिका ३ का २५ बर्षीय सुमन मोक्तानलाई लागुऔषधसहित पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट निट्राभेट ८ ट्याब्लेट, इनपाइन ३ ट्याब्लेट, स्पास्मो ३ ट्याब्लेट पनि वरामद गरेको थियो । पक्राउ परेकाहरुलाई सोधपुछ गर्ने क्रममा बीर नारायण मेडिकल हलबाट खरीद गरी ल्याएको खुलेपछि सञ्चालक चौधरीलाई पक्राउ गरेको हो । उक्त मेडिकल हलमा खानतलासी गर्ने क्रममा मेडिकल हलबाट ८५८ ट्याब्लेट लागुऔषध स्पास्मो बरामद भएको इटहरी प्रहरीले जनाएको छ ।

इटहरी २० स्थित लिवरल सोसाइटीका अध्यक्ष सुबेक्छु देवानले तरहरा क्षेत्रमा लागूऔषध प्रयोगकर्ता बढेकोमा चिन्ता प्रकट गरे । उनले मेडिकल पसलमै लागूऔषध कारोबार भइरहेकोबारे सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताए । ‘तरहरामै पनि लागूऔषध पाउँछ, वडा र नगरपालिकाले बोलाएको कार्यक्रममा दबई दोकानको मानिस किन कोही पनि सहभागी छैनन् ?’ देवानले भने । उनका अनुसार तरहराका अधिकांश मेडिकल पसलमा लागुऔषधको ‘फर्मुला’ बिक्री हुने गरेको दाबी गरे । यसबिषयमा अध्ययन भइरहेको पनि उनले बताए ।

यता ईलाका प्रहरी कार्यालय इटहरीका डीएसपी भण्डारीले लागूऔषध बेच्ने मानिसहरुलाई पक्राउ गरिरहेको र अन्य मेडिकलमा समेत लागूऔषध बेच्ने सुचना आएकोले कडा निगरानी भइरहेको बताए । डिएसपी भण्डारीका अनुसार थुनामा रहेका ६३ जना मानिस मध्ये ६० प्रतिशत लागूऔषध कारोबारी छन् । यसले पनि इटहरीमा लागुऔषध करोबार बढेको देखिन्छ ।