धरान: एक साताअघि भुटान एमेच्योर गल्फ च्याम्पियनसिपमा उपाधि जितेका धरानका युवा गल्फर शुक्रबहादुर राईलाई नेपाल गल्फ संघले सम्मान गरेको छ ।

संघले राजधानीमा एक कार्यक्रम आयोजना गरेर गल्फर राईलाई सम्मान स्वरुप ५० हजार बराबरको खेल सामग्री उपलब्ध गराउने घोषणा गरेको हो । कार्यक्रमा संघका अध्यक्ष टासी घलेले यस्तो घोषणा गरेका थिए । कार्यक्रममा शुक्रसँगै सुवास तामाङलाई १० हजार, निरज तामाङ र टंकबहादुर कार्कीलाई ५/५ हजारको सामग्री उपलब्ध गराउने घोषणा गरिएको थियो ।

संघका अध्यक्ष घलेका अनुसार नेपालले दक्षिण एसियाली खेलकुदमा पदक हासिल गर्ने विश्वास पनि व्यक्त गरे । शुक्रले भुटानमा च्याम्पियन हुँदा एकै दिन ९ अन्डर स्कोर गरेका थिए । यो नेपालको मात्र नभएर दक्षिण एसियाकै एमेच्योर गल्फमा सर्वाधिक स्कोर भएको संघको भनाई छ । शुक्रसहित ४ खेलाडी हाल गोकर्ण, निर्वाणा र आर्मी गल्फ कोर्षमा सागको तयारी गरिरहेका छन् । उनले नेपाललाई सागमा पदक दिलाउन सक्दो प्रयास गर्ने बताए ।