धरान: सञ्चार क्षेत्रमा दलित समुदायको न्युन उपस्थिति भएकोले दलित समुदायका युवाहरुलाई सञ्चार तथा मिडियाप्रति आकर्षित गर्ने उद्देश्यले एक दिने उत्प्रेरणा तालिम आयोजना गरिएको छ ।

धरानको १५ नम्बर वडा कार्यालयको सहयोगमा पिस मिडिया ग्रुपको आयोजना दलित युवाहरुलाई मिडिया उत्प्रेरणा तालिम आयोजना गरिएको हो । वडा कार्यालयको लक्षित कार्यक्रम अन्र्तगत वडाका विभिन्न टोल विकास संस्थाको प्रतिनिधित्व गर्दै १६ जना युवा तथा युवतीहरु मिडिया उत्प्रेरणा तालिममा सहभागी भएका थिए । तालिमको उद्घाटन वडा नं १५ का अध्यक्ष एवं धरान उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजकसमेत रहेका नरेश इवारमले गरेका थिए । उनले नेपालको संविधानले सबै जातजाति तथा समुदायलाई अधिकार सम्पन्न बनाएको धारणा राख्दै अधिकार उपयोग गर्न तथा समाज रुपान्तरणमा अघि बढ्न आफै पनि अग्रसर हुनुपर्ने धारणा राखेका थिए । स्थानीय सरकारले सबैलाई आर्थिक,सामाजिकरुपमा आत्मनिर्भर हुन र आत्मसम्मानपुर्वक बाँच्न पाउने वातावरण तयार गर्न प्रयत्नरत रहेको पनि उनले बताए ।

उद्घाटन समारोहमा दलित विकास समितिका संयोजक एवं कार्यपालिका सदस्य किसोर परियारले तालिमले दलित सुमदायका युवाहरुलाई मिडिया क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने अपेक्षा व्यक्त गरेका थिए । साथै, दलित समुदायको आवाज मिडियामार्फत राज्यको निकायहरुमा पुर्याउन महत्वपुर्ण भुमिका खेल्न पनि उनले सहभागी युवाहरुलाई आग्रह गरेका थिए ।

tranning1 1

आयोजक संस्थाका संयोजक तथा पत्रकार दिनेश गजमेरले दलित समुदाय माथिको विभेद अन्त्य र अधिकार सुनिश्चितताका लागि सञ्चारक्षेत्रको महत्वपुर्ण भुमिका हुने भएकोले युवाहरुलाई उत्प्रेरणा तालिम दिइएको बताए । उनका अनुसार सामाजिक, आर्थिक, शैक्षिक क्षमताको कमिको कारणले मिडियामा पनि दलित समुदायको उपस्थिति न्युन रहेको छ । दलित समुदायका मुद्दाहरु सञ्चारमाध्यममा समेटिनको लागि पनि सोही समुदायका युवाहरु आउन आवश्यक भएकोले उत्प्रेरणा तालिम दिइएको उनले बताए । यो तालिम पश्चात इच्छुक युवाहरुलाई पत्रकारिता तालिम पनि दिइने उनले बताए ।

वडा १५ की दलित महिला सदस्य निरमाया विकको अध्यक्षतामा भएको तालिमको समापन वडा सदस्य ज्ञानेन्द्र बस्नेतको उपस्थितिमा भएको थियो । सहभागीहरुलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो । सहभागीहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद तथा नागरिक दैनिकआवद्ध पत्रकार रोहित राई र ग्रुपका संयोजक दिनेश गजमेरले सहजीकरण गरेका थिए ।

tranning