धरान: आगामी मंसिर १४ मा धरान उपमहानगरको मेयरसहित देशका विभिन्न रिक्त पदमा उपनिर्वाचन हुदैछ ।

यो उपनिर्वाचनको लागि नेपाली कांग्रेसले धरानबाट तिलक राईलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेर सिफारिश गरिसकेको छ । यस्तै, समाजवादी पार्टीले पनि गजेन्द्र इस्वोलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेर सिफारिश गरिसकेको छ । पार्टीको केन्द्रीय समितिबाट निर्णय भएर अनुमोदन हुन बाँकी भएपनि कांग्रेस र समाजवादी पार्टीमा अब को उम्मेदवार हुने भन्ने बहस र अन्योल छैन । त्यसैले उनीहरु चुुनाव केन्द्रीत अभियान, कार्यक्रम र प्रचारमा जुटिसकेका छन् । यता, सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा भने कसलाई उम्मेदवारको सिफारिश गर्ने भन्ने सकस छ ।

कांग्रेस सभापति तथा सर्वसम्मत उम्मेदवार सिफारिश भएका राई वडाहरुमा कार्यकर्ता र मतदाता भेटघाटमा जुटिसकेका छन् । नागरिक अगुवा तथा बुद्धिजिविहरुसँग पनि भेटघाट र छलफल गरेर राय, सुझाव लिने काम भइरहेको उनले बताए । ‘पार्टीका साथीहरु पनि वडा वडामा जुटिसक्नु भएको छ, कार्यकर्ताहरुलाई थप प्रशिक्षणको तयारी पनि गर्दैछौं,’कांग्रेस उम्मेदवार राईले भने,‘केन्द्रीय नेताको उपस्थितिमा जिल्ला, क्षेत्र, नगर, भातृसंगठनका सबैको उपस्थितिमा कार्यक्रम गर्यौं, समिति बनाएर लाग्छौं । पार्टी एकढिक्का भएर लागेको छ, म पनि भेटघाट र राय,सुझाव लिने काममा छुँ ।’

tilak-rai

यसपाली धराने जनताले परिवर्तनको चाहना राखेकोले कांग्रेस र आफ्नो जित हुने उनले बताए । सधै एउटै पार्टीलाई जिताउदा जनताले केही नपाएको र निराश भएको उनले बताए । ‘जनताले परिवर्तनको चाहना राखेका छन्, त्यसैले यसपाली परिवर्तनको पक्षमा मत हाल्नेमा ढुक्क छुँ,’उनले भने । समाजवादी पार्टी पनि निर्वाचन परिचालन कमिटिलाई पुर्णता दिन र वडागतरुपमा भेटघाट गर्र्दै चुनावी तयारीमा जुटिसकेको छ ।
नेताहरु व्यक्तिगत भेटघाटसँगै कार्तिक ८ गते धरानमा नै हुन लागेको १ नं प्रदेश समिति समायोजन कार्यक्रमको व्यवस्थापनमा सक्रिय भएको अध्यक्ष ताजुब लिम्बूले बताए । ‘वडा १२, ५ र १ मा वडागत भेटघाट सकिसक्यौ, भोली १८ र १६ मा हुदैछ,’उनले भने,‘व्यक्तिगत भेटघाट पनि भइरहेकै छ । यो ८ गते शीर्ष नेताहरुको उपस्थितिमा १ नं प्रदेश समायोजन कार्यक्रम पनि धरानमा छ ।’ समायोजन कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु बाबुराम भटराई, अशोक राईलगायत आउने उनले बताए ।

Gajendra-esbo

नेकपालाई उम्मेदवार चयनमा सकस

सत्तारुढ पार्टी नेकपालाई भने उम्मेदवार चयनमा सकस परिरहेको छ । पार्टीले कार्तिक १५ गतेभित्र एक महिलासहित ३ जनाको नाम सिफारिश गर्नुपर्नेछ । तर, आकांक्षी धेरै छन् । धरानमा यसअघिको स्थानीय चुनावमा साविक एमालेले जित्दै आएको क्षेत्र हो । एमाले र माओवादीबीच एकता भएकोले ती दुवै साविक पार्टीका उम्मेदवार आकांक्षीहरु धेरै छन् । त्यसैले सर्वसम्मत नाम पठाउन पनि सकस परिरहेको छ भने ३ जनाको नाम पठाउन पनि उस्तै कठिन छ ।

Nekapa 2

नेकपामा साविक एमालेबाटै प्रकाश राई र विजय राईको प्रमुख दाबेदारी देखिएको छ । यस्तै, पदम लिम्बूको पनि चर्चा छ । साविक माओवादीबाट अइन्द्रबिक्रम बेघा र चोत्लुङ उम्मेदवारको आकांक्षी छन् । धरान विगतदेखि नै एमालेले जितेको र मेयर तारा सुब्बा पनि एमालेबाटै निवार्चित भएकोले टिकट साविक एमालेबाट हुने अनुमान छ । पार्टी एकीकरण भएपनि नेकपामा पुर्वएमाले र पुर्वमाओवादी भन्ने गुटबन्दी कायमै छ । त्यस्तै, पुर्वएमालेभित्र पनि माधवकुमार नेपाल र केपी शर्मा ओली गुट विद्यमान छ ।उम्मेदवारका आकांक्षी प्रकाश राई नेपाल र विजय राई ओली गुटका मानिन्छ । धरानमा पुर्वएमालेभित्र ओली गुट ज्यादै कमजोर छ, तर सोही गुट भनिएका विजय राईको केन्द्रीय नेताहरुमा राम्रो पकड छ ।

उम्मेदवार सिफारिशमा सकस भएपनि पार्टी चुनाव केन्द्रीत कार्यक्रमहरुमा होमिएको र उम्मेदवारी चयनको बिषयले असर नगर्ने नेकपा धरान उपमहागर कमिटिका अध्यक्ष नारायण सुवेदीको भनाई छ । उम्मेदवार सिफारिश नभए पनि पार्टीका सबै गतिविधिहरु चुनाव केन्द्रीत नै भएको उनले बताए । ‘व्यक्तिले चुनाव लड्ने होइन, पार्टीले हो । भिजन पार्टीको हो, त्यसैले उम्मेदवार सिफारिशमा केही ढिलाई भएपनि चुनावी अभियानमा असर पर्दैन,’उनले भने,‘अहिले जे जति गतिविधि भइरहेको छ, ती सबै चुनाव लक्षित हो, हामी १० गते अघि नै सर्वसम्मत उम्मेदवार सिफारिश गछौं ।’