खोटाङ : वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् । छ महीनाअघि कतार दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा र्पुयाइएका आफूहरुलाई कम्पनीले तोकिएको काम र तलब नदिएपछि अलपत्र परेको पीडित युवराजले तामाङले बताए ।

‘चार महीनासम्म लेबरको काम लगायो, उनले भने, ‘कम्पनीले सम्झौताविपरीत काम लगाए पनि तलबसमेत नदिएको र अहिले मेनोफ्युज सप्लाइ कम्पनीले भने खान र बस्न दिएर राखेको छ ।’

काठमाडौको धुम्बाराहीस्थित टाईगर ओभरसिस् म्यानपावर कम्पनीमा प्रतिव्यक्ति ८० हजार रुपैयाँ बुझाएर कतार गएको पीडित युवराजका दाइ राजकुमार तामाङले बताए । ‘इलेक्ट्रिसियनको काम भनेर म्यानपावर कम्पनीले सम्झौतापत्र देखाएपछि मैले नै सबैजनाको धरौटीबापतको रकम बुझाएको थिएँ’ , उनले भने, ‘कतार र्पुयाएपछि चार महीना लेबरको काम दियो र मासिक एक हजार रियाल तलब दिने सम्झौता भए पनि उनीहरुले अहिलेसम्म एक पैसा पनि पाएका छैनन् ।’ चार महीनासम्म कम्पनीले तलब नदिएपछि दोहास्थित लेबरकोटमा उजुरी दिँदासमेत कुनै सुनुवाइ नभएको अलपत्र परेका युवाको गुनासो छ ।

दुई महीनादेखि काम र शुरुदेखि नै दाम नपाएर अलपत्र बनेका आफूहरूललाई उद्धार गरेर नेपाल फर्काउन उनीहरुले सम्बन्धित निकायमा गुहार मागिरहेका छन् । कतार पठाउने धुम्बाराहीस्थित टाईगर ओभरसिस् म्यानपावर कम्पनी अहिले बन्द रहेको पीडितका दाजु राजकुमारले बताए । उता म्यानपावर कम्पनीका प्रबन्ध निर्देशक गोविन्द शिवाकोटीले भने उनीहरुले बिना कारण काम छाडेर बसेको बताए ।
‘उनीहरुले कम्पनीसँग लेबरमै सम्झौता गरेर कतार गएका हन्’ उनले भने, ‘अहिले काम छाडेर बसेका रहेछन्, सम्झौताअनुसारको काममा फर्किएमा वातावरण बनाउन सकिन्छ ।’ टिकट र प्रवेशाज्ञा निःशुल्क भए पनि म्यानपावर कम्पनीले पीडित युवाबाट प्रतिव्यक्ति ८० हजार रुपैयाँ असुलेको र अधिकांश व्यक्तिसँग पनि यसैगरी धरौटीको नाममा रकम असुल्ने गरेको पीडितहरूको भनाई छ ।