बराहक्षेत्र: बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ स्थित कालाबञ्जारमा हिजो राती भएको आगलागीमा ४ वटा होटल तथा पसल जलेर पुर्णरुपमा क्षति पुगेको छ ।

पीडितहरुका अनुसार एक करोड बराबारको धनमाल जलेर नष्ट भएको छ । मंगलबार राती करिब ९ बजे विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । नगरपालिकाले ३ महिना अघि नै दमकल खरीद गरेको थियो । तर, अहिलेसम्म चालक नियुक्ती गरेर राखेको छैन । जसले गर्दा हिजो राती भएको आगलागीबाट ठुलो क्षति व्यहोर्नु परेको थियो ।

नगरपालिकाले दमकल किने पनि चालक राखेर सञ्चालन नगर्दा धेरै क्षति भएको भन्दै स्थानीयबासी र व्यापारीहरु आक्रोशित छन् । नगरको दमकल उपयोगविहिन भएपछि गाउँले, प्रहरी र सशस्त्र प्रहरीले जोखिम मोलेर आगो नियन्त्रणमा लिनुपरेको थियो । स्थानीय र प्रहरीको पहलकदमीमा आगो नियन्त्रणमा लिइसके पछि मात्र धरान र इटहरीको बारुण यन्त्र पुगेको थियो । ती दमकल पुगेपछि राती करिब सवा ११ बजेतिर आगोलाई पूर्णरुपमा निभाउन सकिएको स्थानीयले जनाएका छन् ।

श्री जगन्नाथ डेडराज जनता माविको सटर भाडामा लिएर बसेका व्यापारीहरुको कोठामा आगलागी भएको हो । भोजपुरे होटलबाट विजुली सर्ट भएर आगलागी शुरु भएको अनुमान छ । त्यहाँको ४ वटा पसलमा आगोले क्षति पुर्याएको छ । भोजपुरे होटलबाट शुरु भएको आगलागीबाट धन बहादुर श्रेष्ठको श्रेष्ठ होटल, गोबिन्द बिष्टको किराना होलसेल पसल, प्रतिमा श्रेष्ठको कोल्ड ड्रिंस, सुवास विष्टको होटल र न्यु गंगा टेलर्स पनि जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।