विराटनगर: सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो मंगलबार राती १ बजे सुनसरीको ईनरुवा नगरपालिका १ स्थित नम्रता होटलाबाट ७ जनालाई प्रहरीले तासको खालबाट पक्राउ गरेको हो । होटलमा तास खेलिरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी टोलीले स्थानीय प्रदिप कुमार साह, रवी साह, राजकुमार साह, शम्भु कुमार साह, हसवुल मन्सुरी, राम बहादुर तामाङ र रामानन्द मण्डललाई नियन्त्रणमा लिएको छ । तासको खालबाट प्रहरीले ७ थान मोबाइल, नेपाली रुपैयाँ ८१ हजार ५ सय ७० र भारतीय रुपैयाँ ६ हजार ६ सय ८० बरामद गरेको प्रहरीले जनाएको छ ।

यसैगरि, मंगलवार राती साँढे ८ बजे मोरङको कटहरी गाउँपालिका २ स्थित सुरेश मण्डलको घरबाट उनीसहित ६ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले घर धनी मण्डलसहित स्थानिय मुनेश्वर मरिक, दिपक मरिक, शिवेन्द्र मरिक, मोहम्बर साफी र दिरज गुप्तालाई नियन्त्रणमा लिएको हो । उक्त तासको खालबाट प्रहरीले १ बुङ तास र नगद ६८ हजार ९ सय ६० समेत बरामद गरेको पनि १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।