धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अस्पताल प्रशासनले फुड सप्लिमेन्टलाई औषधी भन्दै विरामीलाई सिफारिश नगर्न कडा निर्देशन दिएको छ ।

अस्पताल प्रशासनले सबै विभागीय प्रमुखहरुसँग छलफल पछि परिपत्रसमेत पठाएर यस्तो निर्देशन दिएको हो । प्रशासनले प्रतिष्ठानबाट सबैभन्दा बढी फुड सप्लिमेन्ट(खाद्य पुरक सामग्री) सिफारिश हुने हाडजोर्नी विभागका डाक्टरहरुसँग पनि अलग्गै छलफल गरेरको थियो । उक्त छलफलमा फुड सप्लिमेन्ट सिफारिश नगर्न र गरेको पाइए कारबाही गर्ने चेतावनी पनि दिइएको अस्पताल प्रशासन स्रोतले जनाएको छ । प्रतिष्ठानको हाडजोर्नी विभाग, गाइनो विभाग र जनरल ओपिडी तथा इर्मजेन्सीबाट विरामीलाई औषधी भन्दै अनावश्यकरुपमा फुड सप्लिमेन्ट सिफारिश हुने गरेको छ । यसरी सिफारिश भएको फुड सप्लिमेन्ट उत्पादक तथा सप्लायर्सहरुबाट वीपीका चिकित्सकहरुले मासिकरुपमा कमिशन पाउदै आएका छन् ।

bpkihs-notice

केही दिनअघि औषधी व्यवस्था विभाग, विराटनगर शाखाले फुड सप्लिमेन्ट सिफारिश रोक्न प्रतिष्ठानलाई पत्राचार गरेको थियो । विभागमा दर्ता नभएको औषधी मेडिकलले बेच्न पाउदैन । साथै, चिकित्सक डाक्टरहरुले पनि दर्ता नभएको औषधी प्रेस्काइब(सिफारिश) गर्न पाउदैनन् । तर, प्रतिष्ठानका डाक्टरहरुले दर्ता नभएको फुड सप्लिमेन्टलाई औषधीकोरुपमा विरामीलाई सिफारिश गर्ने गरेका छन् । हजारौं पर्ने यस्ता फुड सप्लिमेन्टले ती विरामीहरुलाई आर्थिक भार पनि पर्छ । किनभने, सोही प्रकृतिको काम गर्ने भिटामिन, क्याल्सियम विभागमा दर्ता भएको कम मुल्यमा उपलब्ध छ । तर, डाक्टरले ती औषधी सिफारिश नगरेपछि विरामीहरुले पनि खरीद गर्दैनन् ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहले सबै विभागसँग छलफल गरेर परिपत्र पनि पठाइएको बताए । उनले अब उप्रान्त विभागमा दर्ता नभएको फुड सप्लिमेन्ट सिफारिश गरेको प्रमाण भेटिए कारबाही हुने पनि चेतावनी दिए । ‘छलफलमा पनि यो कुरा भनिसकेका छौं, अब पनि त्यस्तो सिफारिश गरेको प्रमाण भेटिए कारबाही हुन्छ,’अस्पताल निर्देशक डा.साहले भने,‘अस्पताल प्रशासनको निर्देशन नमान्ने, कानुन नमान्नेलाई निष्काशनसम्म पनि हुन्छ ।’