इटहरी: बेकरी तथा सिन्के चाउचाउ उत्पादकहरुलाई लक्षित गरी सुनसरीको इटहरीमा असल उत्पादन अभ्यास सम्बन्धी दुई दिने तालिम आयोजना गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ सुनसरीको समन्वयमा सुनसरी र मोरगंका बेकरी तथा सिन्के चाउचाउ उत्पादकहरुलाई तालिम दिइएको हो । खाद्य बस्तुको स्वच्छ तथा गुणस्तरिय उत्पादन गर्ने विषयमा केन्द्रीत भएर आयोजना गरिएको तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइराला, निरत कटुवाल, बिमला पोखरेल, सञ्जय भण्डारी लगायतले सहजीकरण गरेका थिए ।

तालिममा खाद्य ऐन, नियम अरुका विषयमा समेत सहजीकरण गरिएको थियो । खाद्य ऐन तथा नियम विपरित खाद्य वस्तु उत्पादन विक्री वितरण गरिए हुने कानुनी कारवाहीका विषयमा समेत चर्चा गरिएको तालिममा सभागीहरुलाई स्वच्छ र गुणस्तरिय उत्पादनमा प्रोत्साहन हुने विषयवस्तुका विषयमा समेत सहजकर्ताहरुले प्रकाश पारेका थिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरलाको अध्यक्षता तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ सुनसरीका अध्यक्ष राजेन्द्र केशरी घिमिरेको प्रमुख आतिथ्यतामा भएको तालिममा सुनसरी र मोरगंका ५० जनाको सहभागिता रहेको थियो ।