धरान: आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि निर्वाचन आयोगले आचार संहिता जारी गरेको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव राजकुमार श्रेष्ठले आज विज्ञप्ती जारी गर्दै निर्वाचन हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आचारसंहिता लागु गर्ने जनाएका छन् । आयोगले कार्तिक ८ गते शुक्रबारदेखि आचारसंहिता लागु हुने पनि प्रष्ट पारेको छ ।

आयोगका अनुसार नेपाल सकार, प्रदेश सरकार र स्थानीय तहको हकमा निर्वाचन हुने क्षेत्र, स्थानीय तहमा कार्तिक ८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म प्रचारप्रसारमा संलग्न नहुने, नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने आचारसंहिता लागु हुनेछ । यस्तै, पद सृर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार पनि दिन नहुने साथै सरुवा, बढुवा गर्न वा काजमा खटाउन नहुने, तटस्थ र निष्पक्ष रहनुपर्ने, विदेश भ्रमणमा जान नहुने र निर्वाचन सम्बन्धी जिम्मेवारी दिन नहुने लगायत आचारसंहिता लागु भएको छ ।

यस्तै, राजनीतिक दलको हकमा कार्तिक ८ गतेदेखि अन्तिम मतपरिणाम नआएसम्म सामान्य आचरण र बिषयगत आचरणका बिषयहरु लागु गरिएको आयोगले विज्ञप्तीमा खुलाएको छ । उम्मेदवारको हकमा मनोनयनपत्र दर्ता भएको मितिदेखि अन्तिम मतपरिणाम प्राप्त नभएसम्म सामान्य आचरण र बिषयगत आचरण अन्र्तगत जलुस, आमसभा, र्याली, बैठक, भेला गर्दा पालना गर्नुपर्ने आचरण, सवारीसाधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण, प्रचारप्रसारमा सञ्चारमाध्यम प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण, निर्वाचन खर्च सम्बन्धी आचरण, मौन अवधिमा पालना गर्नुपर्ने आचरण, मतदानको दिन पालना गर्नुपर्ने आचरण र अन्य आचरण सम्बन्धी बिषयहरु लागु गरिएको आयोगले जनाएकोछ ।

यस्तै, निर्वाचन प्रचारप्रसारको क्रममा मोटर तथा सवारीसाधनको प्रयोग गर्न पाइनेछैन भने आमसञ्चारमाध्यम, गैरसरकारी संस्था र पर्यवेक्षकहरुलाई उम्मेदवारलाई चुनावचिह्न प्रदान गरेको मितिदेखि मतपरिणाम नआएसम्म आचरण सम्बन्धी संहिता लागु हुने आयोगले जनाएको छ । आचारसंहिता कार्यान्वयन तथा अनुगमन गर्नको लागि निर्वाचन आयोग ऐन २०७३ को दफा २३ मा व्यवस्था भएअनुसार उपनिर्वाचन केन्द्रीय आचारसंहिता समितिले अनुगमन तथा कार्यान्वयन गर्ने विज्ञप्तीमा उल्लेख छ ।

मङ्सिर १४ गते ३७ जिल्लका विभिन्न रिक्त पदहरुमा उपनिर्वाचन हुदैछ । ती मध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख, उपाध्यक्ष, वडाअध्यक्षसहित कुल ५२ पदको लागि चुनावको तयारीमा आयोग जुटेको छ । यसअघि, आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरिसकेको थियो ।