काठमाडौ‌: नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक (तिहार) आजदेखि शुरु हुँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज शुक्रबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने जनाएको छ । यस वर्ष यमदीपदान शुक्रबारदेखि शुरु हुने भए पनि काग तिहार भोली (कात्तिक ९ गते ) शनिबार परेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको समितिको भनाई छ । तिथिको घटबढका कारण यस्तो भएको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने हुन्छ । कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत्रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिको भनाई छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ११ गते सोमबार गर्नुपर्ने भनिएको छ । एघार गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ । कात्तिक १२ गते मङ्गलबार तिहारको मुख्य दिन भाइटीका पर्व रहेको छ । बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ । कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ ।

सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन । कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको समिति अध्यक्ष गौतमले बताए । यसै दिनदेखि नेपाल संवत् ११४० शुरु हुन्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ ।

कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा बत्ती बाल्न शुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दासमेत मन आनन्दित हुन्छ ।तस्बिर स्रोत: गुगल